काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।
महाशाखाले आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन। चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षा हुने महाशाखाको अनुमान छ।