तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँमा कुवा सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यम बहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दाम प्रसाद श्रेष्ठले जानकारी दिए।
स्थानीय दुर्गा विकको इनार सफा गर्न भनेर उनीहरू बुधबार बिहान १० बजेतिर इनारमा पसेका थिए। उनीहरू इनारबाट निस्कन नसकेको र भित्र फसेको भन्ने सूचना पाउनासाथ प्रहरी पोष्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना, इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठको नेतृत्वमा आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट जामरात रमेश पराजुलीको कमाण्डमा तीन जना प्रहरी खटिएका थिए। मृतक दुवै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।