काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत-सम्भार र व्यवस्थापन गर्ने सम्बन्धमा सहकार्य गर्ने सम्झौता भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको हो।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबिच हस्ताक्षर भएको छ।
मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरे। अस्पतालमा खेर गइरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिनअघि पुनलाई आग्रह गरेका थिए। त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो।
हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे। उनले केन्द्रको सहयोगमा राज्यको खेर गइरहेको सम्पत्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने आशा व्यक्त गरे। केन्द्र प्रमुख पुनले राज्यले आफूहरूलाई विश्वास गरेर ठुलो जिम्मेवारी दिएको भन्दै खुसी प्रकट गरे।