जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्छ : अर्थमन्त्री पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत्मार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय नामक संस्थाको संयुक्त आयोजनामा आज यहाँ भएको ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा उनले ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने योजना आवश्यक रहेकोसमेत बताए।

अर्थमन्त्री पौडेलले सरकारले जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र यस क्षेत्रको विकासका लागि विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउने प्रतिबद्धता जनाए। ‘नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्नेछ। नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्न ऊर्जा उत्पादन र आन्तरिक खपतमा जोड दिनुपर्छ,’ मन्त्री पौडेलले भने, ‘नेपालको अधिकतम उत्पादन नेपालमै खपत हुने गरी ठूलाठूला बहुराष्ट्रिय कम्पनीलाई नेपाल लगानीका लागि प्रोत्साहन गर्ने नीति सरकारले लिनेछ।’

ऊर्जा उत्पादनमा आफ्नो सम्पूर्ण समय र लगानी लगाएका ऊर्जा उद्यमीले समस्या छन् भनेर थाक्न नपाइने भन्दै उनले हाल देखिएका समस्या बृहत् छलफलमार्फत समाधान गर्न सकिने धारणा राखे। नेपालको ऊर्जा क्षेत्रमा थप प्रगति हासिल गर्न र हिउँदमा पनि अन्यत्रबाट विद्युत् आयात गर्न नपर्ने ठाउँमा नेपाललाई पुर्‍याउन सबैले मिलेर काम पर्नेमा उनको जोड थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्