काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमै पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारले काम गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले स्वदेशमै रासायनिक मल उत्पादन गर्न सरकार प्रयासरत रहेको पनि बताएका हुन्।
‘हाल वार्षिक रुपमा कृषकहरूलाई आवश्यक पर्ने ६ लाख मेट्रिक टन रासायनिक मल मन्त्रालयले आयात गरी अनुदानमा उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘नेपालमा मल कारखाना खोल्न विगत देखि नै अध्ययनहरू हुँदै आएका छन्। अहिले पनि लगानी बोर्डले दुई वटा अध्ययन गरिरहेको छ। सरकार स्वदेशमै रासायनिक मल उत्पादनको लागि प्रयासरत छ।’
प्रधानमन्त्री ओलीले अर्थतन्त्रको विकासको लागि कृषिमा लगानी गर्न अभिप्रेरित गरिने बताए। कृषिको क्षेत्रमा व्यवस्थित र रणनीतिक लगानीको आवश्यकता महसुस गरी सरकारले कृषिमा लगानी दशक घोषणा गरेको उनको भनाई थियो। कृषि क्षेत्रमा अर्थपूर्ण लगानीको लागि सबै तहका सरकार, निजी, सहकारी, विकास साझेदारलाई अभिप्रेरित गर्ने एक अभियानको रूपमा सरकारले ‘कृषिमा लगानी दशक’ घोषणा गरेको उनले बताए।