सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई छाड्न तयार छौं : सांसद भट्टराई

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एमालेका सांसद योगेश भट्टराईले शीर्ष नेताबीच सहमति भए सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई छाड्न तयार रहेको बताएका छन्।प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद भट्टराईले यस्तो बताएका हुन्।

०७९ सालको निर्वाचनपछि शीर्ष नेतृत्वबीच सहमति भएर सभापतिको विषय टुंगिएको उनले बताए। पुनः सहमति भए समिति सभापतिले राजीनामा दिने उनले बताए। “सभापति संसदीय परम्पराअनुसार विपक्षी दलको हुन्छ भने विदित नै छ। हामीले कतिपय परम्परा मिच्दै आएका छौ,” उनले भने, “०७९ को चुनावपछि समिति सभापतिमा निर्वाचन भएन, सहमतिबाट चयन भएको हो। राजनीतिक दलको नेतृत्वमा पुनः सहमति हुन्छ भने सभापतिले राजीनामा दिनुपर्छ, दिनुहुन्छ। पटक-पटक सभापतिको विषयमा चिमोटेर दबाब दिइयो।”

लेखा समिति प्रतिपक्षी दलले पाउने संसदीय परम्पराअनुसार कांग्रेस-माओवादी गठबन्धनको सरकार हुँदा एमालेले लेखा समिति सभापति पाएको थियो। अहिले एमाले–कांग्रेस गठबन्धनमा सरकार बन्दा माओवादी प्रतिपक्षमा पुगेको हो।

नेकपा (माओवादी केन्द्र) ले लेखा समितिको सभापति पद माग गर्दै आएको छ। बैठकमा माओवादी सांसद लेखनाथ दाहालले उक्त पद प्रतिपक्षीलाई दिन पहल गर्न समितिका सभापति ऋषिकेश पोखरेललाई आग्रह गरेका थिए।