काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि प्रेरित गर्न सहयोग र्पुयाउने बताएका छन्।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपतिले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरे।
आज विश्वभर हिन्दु धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजाअर्चना गरी श्रद्धा भक्तिपूर्वक धुमधामका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदै छन्।
राष्ट्रपति पौडेलले गीताको माध्यमबाट सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गरिएको र गीता ज्ञानले समाजलाई सही दिशा दिन योगदान दिएको समेत उल्लेख गरेका छन्।
द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहिआएको छ। सोही दिनको सम्झनामा हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन्।