काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमेलीहरुको मौलिक पर्व गौरालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा अहिले देशैभर र भारत, अमेरिका लगायतका देशहरूमा समेत मनाउन थालेपनि यसको मौलिक स्वरूपको विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
साथै उनले वर्तमान सरकार जनताका निराशाहरूको अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताए। उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दी, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरू सहजीकरण गरी जनतामा देखिएको निराशा हटाउन सरकार लागि परेको बताए। विशिष्ट परिस्थितिमा बनेको सरकारले राष्ट्रिय चुनौतीहरूलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको उनको भनाई छ।