कास्की। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता र अहिलेका उपलब्धिको रक्षा अन्यबाट सम्भव नरहेको बताएका छन्। कास्कीको पोखरामा आज पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा उनले माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्ति रहेको उल्लेख गरे।
अध्यक्ष प्रचण्डले भने, ‘परिवर्तनका उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको छ। त्यसमा हामी सबै सजग हुनुपर्दछ। आवश्यक परेको खण्डमा पुनःसंघर्षमा उत्रिएर भए पनि परिवर्तनलाई जोगाउनु पर्दछ।’ उनले पार्टीको प्राथमिकता सरकारमा भन्दा पनि पार्टी संगठन निर्माण र विचारको विकास भएको बताए।
अध्यक्ष प्रचण्डले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। ‘हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ। अबको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो,’ उनले भने।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै १२ बुँदे सहमति करिब अन्त्य हुन लागेको र देश नयाँ ठाउँमा जान लागेको अध्यक्ष प्रचण्डले बताए। उनले पार्टीलाई एकताबद्ध बनाउँदै समाजवादी क्रान्तिका लागि तयारी गर्नुपर्नेमा जोड दिए। ‘अहिले समाजवादी क्रान्तिका लागि बस्तुगत आधार तयार भएको छ। त्यसका लागि पहिलो सर्त पार्टीभित्रको एकता हो,’ उनले भने।