काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। पूर्व प्रधानमन्त्री एवं प्रतिपक्ष दलका नेता प्रचण्डले आज दिउँसो एक बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तय भएको उनको सचिवालयले जनाएको छ।
प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्न समय माग गरेकाले आजको लागि तय भएको बताइएको छ। सचिवालयका अनुसार उनले विशेष समयमा सम्बोधन गर्ने छन्। प्रचण्डले पछिल्लो दुई ठूला दल काँग्रेस र एमालेको गठबन्धन सरकारप्रति चर्को आलोचनाका साथै सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिइरहेका छन्।
उनले सुशासन मन नपराउनेहरूले मिलेर नयाँ सरकार बनाएको र यसले भ्रष्टाचारलाई बढवा दिइरहेको बताउँदै आएका छन्। आज दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ।