काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निकालेको छ। मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाउने निर्णय गरेको हो। ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप थियो।
यसअघि असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो। रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो। ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो।
ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए।