काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर हुनसके मुलुकमा नीतिगत स्थिरता पनि कायम हुने बताएका छन्।
आजदेखि काठमाडौंमा सुरु भएको ‘नाडा अटो सो २०२४’ को उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले विद्यमान व्यवस्थामा बन्न सक्ने स्थिर र मजबुत सरकारका रुपमा वर्तमान सरकार रहेको दाबी गरे।
‘राजनीतिक परिस्थिति अस्थिर भयो भने नीतिगत स्थिरता कायम हुन सक्दैन। अहिले बनेको यो सरकार स्थिर हो, यसले नीतिगत स्थिरताको पनि बलियो आधार दिएको छ,’ अर्थमन्त्री पौडेलले भने। सरकारको स्थिरतासँगै अब नीतिगत स्थिरता पनि कायम हुने उनको भनाइ छ।
निजी क्षेत्रले व्यापारभन्दा पनि उद्योग र आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा अर्थमन्त्री पौडेलको जोड थियो। उद्योग क्षेत्रमा लगानी बढाउने र आन्तरिक उत्पादन प्रवर्द्धन गरेर मात्र मुलुकको अर्थतन्त्र सुदृढ हुँदै जाने उनको भनाइ छ। अर्थमन्त्री पौडेलले सरकारका मन्त्रीहरू औपचारिक कार्यक्रममा बढी अल्झिँदा मन्त्रालयका काम प्रभावित हुनसक्ने भएकाले महत्त्वपूर्ण कार्यक्रमबाहेकमा मन्त्रीहरूलाई आमन्त्रण नगर्न पनि आग्रह गरे।
नाडा अडो सो उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सवारीसाधनलाई विलाशिताका वस्तुभन्दा पनि आवश्यकताको वस्तुका रुपमा लिइनुपर्ने धारणा राखेको छ। साथै, नीतिगत स्थिरता कायम हुनुपर्ने माग पनि निजी क्षेत्रको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटो मोबाइल क्षेत्रलाई बिलासी वस्तुका रुपमा भन्दा पनि आवश्यक वस्तुका रुपमा लिइनुपर्ने बताए। त्यसका लागि सरकारको नीति परिवर्तन हुनुपर्ने उनको भनाइ छ।