काठमाडौं। मन्त्रिपरिषद् बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ। बैठकले आज मुख्य सचिव नियुक्तिबारे छलफल पनि गर्नेछ।
हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकाले नयाँ मुख्य सचिव नियुक्तिको तयारी सरकारले गर्न लागेको हो।
गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन्। उनी नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव बनेकी हुन्। गड्तौलापछि डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत मुख्य सचिवको दाबेदार छन्।