काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संविधानले स्वीकार गरिएको र परिकल्पना गरिएको विषयलाई अवमूल्यांकन नगर्न चेतावनी दिएका छन्। बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले माओवादीको सशस्त्र सङ्घर्षलाई अवमूल्यन नगर्न चेतावनी दिएका हुन्।
एमाले सांसद योगेश भट्टराईलाई माओवादीको सशस्त्र सङ्घर्षलाई हिंसा भनेपछि त्यसको जवाफमा सांसद सापकोटाले आन्दोलनलाई अवमूल्यन गर्ने अधिकार नभएको बताएका हुन्। शब्दको प्रयोगमा भन्दा पनि कुन नियत र अभिप्रायले गरिएको त्यसमा हेरिनुपर्ने उनको भनाई थियो। तत्कालीन नेकपाले सशस्त्र सङ्घर्ष स्वीकार गरेको स्मरण गराउँदै उनले अहिले आफ्नो नेतृत्वको चाकडी गर्न जनयुद्ध र आन्दोलनलाई अपमान नगर्न चेतावनी दिए।
‘माननीय योगेश भट्टराईले जनयुद्ध र आन्दोलनलाई अपमान गर्ने खिसिट्युरी गर्ने उद्देश्यका साथ ल्याउनुभयो हामीले त्यसको प्रतिवाद गरेको हो। आन्दोलनलाई अवमूल्यन गर्ने अधिकार छैन,’ उनले भने, ‘कमरेड योगेश भट्टराईलाई आफ्नो नेतृत्वलाई चाकडी गर्ने स्वतन्त्रता छ। जनयुद्धका बारेमा विरोध गर्नका निमित्त उहाँहरूका बैठक भेला प्रशिक्षण सबैतिर स्वतन्त्रता छ। तर नेपालको संविधानले के भन्छ भने जनयुद्धलाई सशस्त्र सङ्घर्ष भन्छ। सङ्घर्ष भनेको वीरताको गाथा हो। त्यसले कहीँ न कहीँ ओझपूर्ण गरिमा बोकेको हुन्छ।’