पाटन। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्ने बताएकी छन्। ललितपुरमा आज आयोजित शिक्षा र रोजगारी सम्बन्धमा राष्ट्रिय गोष्ठीमा मन्त्री भट्टराईले नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने जनशक्तिको मात्रै विकास गरेकाले शिक्षासँग उद्यमशील र श्रमको समन्वय नहुँदा युवा पलायन हुने समस्या भएको बताएन्।
‘शिक्षा र उद्योग सँगसँगै गएनन भने अब देशको विकास हुनसक्दैन। यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गरी नीति निर्माण गर्न छलफल गरिरहेका छौं। अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमता भएका यहाँ योगदान गर्ने जनशक्ति तयार गर्न सकेनौँ, यसमा सरकारको ध्यान गएको छ,’ उनले भने।
मन्त्री भट्टराईले शिक्षा मन्त्रालयले बनाउने पाठ्यक्रममा ज्ञान, सीप र कलालाई श्रम तथा समाजसँग जोड्ने गरी निर्माण गरिनुपर्ने उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान दिएर अगाडि बढेको धारणा राखिन्। उनले शिक्षा, उद्योग र श्रम मन्त्रालयबीच सहकार्य र समन्वय गरी काम गर्ने बताइन्। उनले व्यावसायिक शिक्षा प्रदान गर्ने अभिप्रायले २०४५ सालमा स्थापित सिटिइभिटीको पुनःसस्थापना गरिनुपर्नेमा जोड दिइन्।
‘त्यतिबेलाको आवश्यकता अहिलेको अवस्थासँग समय सान्दर्भिक रहेको देखिँदैन, समय धेरै परिवर्तन भएको छ, नयाँ प्रविधिको विकास भएको छ, अब सिटिइभिटीको पुनःसस्थापना गरिनुपर्छ, यसका लागि संसद्मा विद्येयक प्रस्तुत गर्ने तयारी भएको छ,’ मन्त्री भट्टराईले भनिन्। उद्यमशीलतासँग विद्यालय तहदेखिको शिक्षालाई जोडन बजेट र नीति तथा कार्यक्रममा पनि समावेश गरिएको उनले जानकारी गराइन्।