अनेरास्वावियू (क्रान्तिकारी) पर्वतको अध्यक्षमा चापागाईँ

लोकपाटी न्यूज
0 Shares
  • निर्मल पौडेल

 पर्वत। नेकपा (माओवादी केन्द्र) निकट अनेरास्वावियू (क्रान्तिकारी) पर्वतको अध्यक्षमा सन्तोष चापागाईँ चयन भएका छन्। बिहीबार सम्पन्न अनेरास्वावियू (क्रान्तिकारी) २२ औँ जिल्ला भेलाले चापागाईँको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

भेलाले उपाध्यक्षमा पवित्रा नेपाली र राजकुमार विश्वकर्मा चयन गरेको छ। त्यस्तै सचिवमा सन्दीप नेपाली, कोषाध्यक्षमा उमा रेग्मी, सह सचिवमा संगम नेपाली र दर्शन गौतम चयन भएका छन्। यस्तै सदस्यहरूमा सुशान्त आचार्य, समृद्ध तिमिल्सिना, सविता क्षेत्री, शिलु क्षेत्री, रञ्जिता बिक, समिता थापा, सदिक्षा पोख्रेल, पुष्कल गौँडेल, सुशान्त बिक, अंकिता चापागाईँ, मनोज मल्ल, दृष्टि जिसी, सोफिया घिमिरे, राजन बिक, आयुष डाला, सफल न्यौपाने, रोमी नेपाली, सुन्दर गौतम, निर्मल सुबेदी, सुजल सेन निर्विरोध चयन भएका छन्।

भेलाको उद्घाटन सत्रमा अनेरास्वावियू (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष नारायण खनालले विद्यार्थीहरूका हकहितसँगै निःशुल्क शिक्षाको व्यवहारिक कार्यान्वयनका लागि दृढतापूर्वक अखिल क्रान्तिकारी स्थापनाकाल देखी सशक्तरुपमा लागिपरेको बताए। अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव विजयप्रकाश सापकोटाले देशमा रहेका शैक्षिक संस्थाहरू बेरोजगार युवाहरू उत्पादन गर्ने भट्टी जस्तै भइरहेको परिप्रेक्ष्यमा जनमुखी प्राविधिक तथा व्यवहारिक शिक्षा नीति स्थापना गर्न अखिल क्रान्तिकारी जुनसुकै मूल्य चुकाउनपछि नपर्ने बताए।

अनेरास्वावियू (क्रान्तिकारी)का केन्द्रीय उपमहासचिव नारायण बडाल, अखिल क्रान्तिकारी गण्डकी प्रदेशका अध्यक्ष सुदिन पौडेल, अखिल क्रान्तिकारी पृथ्वीनारायण क्याम्पस अध्यक्ष नवीन अधिकारी लगायतका विद्यार्थी नेताहरूले विद्यार्थी आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गरिरहेको जिकिर गरे। यस्तै एक परिवार एक अखिल क्रान्तिकारी भन्नेमा विद्यार्थी नेताहरूले जोड दिएका थिए। उनीहरूले अखिल क्रान्तिकारीकै बलिदानीबाट संविधानमा विभिन्न शैक्षिक मुद्दा र अधिकारहरू स्थापित गरेको उल्लेख गरेका थिए। कार्यक्रमको उद्घाटन सत्रमा विशिष्ट अतिथि माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्ष तथा संविधान सभा सदस्य गुणखर बस्याल सरोजले देशको पछिल्लो राजनैतिक व्यवस्था, सङ्घीयता लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्ध र आन्दोलनको जगबाट स्थापित भएकोमा दुई मत नरहेको बताए।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सुदिप कुँवरले दलाल नोकरहरू र भ्रष्ट्राचारी विरुद्ध जेहाद छेड्दै सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नमा अखिल क्रान्तिकारीहरू एकजुट भएर लाग्नुपर्ने बताए। देशमा समावेशिता सङ्घीयता, महिला, अल्पसङ्ख्यक जनजाति, मधेसी, मुस्लिम लगायतका पिछडिएका वर्ग र समुदायका अधिकारहरू खोस्ने खेलमा केही तत्त्वहरू लागिपरेकोमा आक्रोश व्यक्त गर्दै जनताका अधिकार कसैले खोस्न नसक्नेमा कुँवरले जोड दिए।

राष्ट्रियसभा सदस्य मनरुपा सुवेदी विमलाले विधार्थीहरुको हकहितका लागि आफ्नो स्थानबाट कानुन निर्माण तथा परिमार्जन गर्ने ठाउँमा पहलकदमी चालिरहने बताइन्। यस्तै केन्द्रीय सदस्य गगन थापा प्रदीपले नवनिर्वाचित समितिलाई बधाई दिँदै आगामी दिनमा हुने समाजवादी आन्दोलनमा यस निर्वाचित समितिले पर्वत जिल्ला भरिका विद्यार्थीहरूलाई संगठित गर्दै ऐतिहासिक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए। समापन कार्यक्रममा माओवादी केन्द्र पर्वतका जिल्ला संयोजक उमाकान्त भुर्तेलले विगतका दिनहरूमा बन्दुक र गोली बोकेर स्थापना भएको रक्तरञ्जित अखिल क्रान्तिकारीको संगठन र यसले हासिल गरेको उपलब्धिलाई सदैव रक्षा गर्दै परिवर्तनको बाटोमा अग्रसर हुन सबै विद्यार्थीहरूलाई आग्रह गरे।

कार्यक्रममा अनेरास्वावियू (क्रान्तिकारी) जिल्ला फ्याक्सन इन्चार्ज तथा पार्टीका कुस्मा नगरकमिटी अध्यक्ष शंकर गिरी, गण्डकी प्रदेश समिति सदस्य तारा रिजाल पराजुली, गंगा तिमिल्सिना, लीला दवाडी, दुर्गा दर्जी, जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जिसी, फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री, जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्य आकाश, प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष निर्मल पौडेल, पार्टीका कुस्मा नगर कमिटी उपाध्यक्ष मीनराज केसी अविरल, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष दीपक अधिकारी, रिटर्नी सेन्टर नेपालका केन्द्रीय सदस्य बलराम पौडेल, विद्यार्थी नेता साजन परियार लगायत विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको खुल्ला तथा बन्द सत्रमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिसँगै जनवादी र प्रगतिशील सिर्जनाहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले सदरमुकाम कुस्माको लोकतान्त्रिक चोकदेखि शिवालय चोक हुँदै बजार परिक्रमा गरेका थिए। ‘शैक्षिक विकृति विसङ्गति विरुद्ध संघर्ष’, ‘सामाजिक न्याय, सुशासन सहितको समृद्ध जिल्ला निर्माणका लागि हाम्रो आन्दोलन’ भन्ने मूल नाराका साथ भेला सम्पन्न भएको थियो।