मौरी किसानको समस्याबारे कालिकाका मेयर रेग्मीले गरे कृषि मन्त्रीको ध्यानाकर्षण

krishi-kisan
लोकपाटी न्यूज

चितवन। स्थानीय महको बजारीकरणमा देखिएका समस्या, महको व्यवस्थापन, मह निर्यात लगायतका विषयमा काठमाडौँस्थित कृषि मन्त्रालयको सभा हलमा छलफल गरिएको छ।

सो अवसरमा चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले कृषि मन्त्री रामनाथ अधिकारी समक्ष समग्र राष्ट्रिय मौरी पालक किसानको समस्या चितवनको कालिकामा रहेकाले मौरी पालक किसानद्वारा उत्पादित महको बजारीकरण समस्या आफूले प्रत्यक्ष देखेको हुनाले कृषि मन्त्री अधिकारीलाई नेपालमा उत्पादित महलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिए। कालिकामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजिदिन मन्त्री अधिकारी समक्ष मेयर रेग्मीले अनुरोध गरे।

“किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन्। बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, मेयर रेग्मीले भने, “उत्पादित महले बजार नपाउँदा किसान निराश हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ।”

नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा उनले जोड दिए। चितवनको कालिका नगरपालिकासहित जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादन भन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको बताए। उनले महको बजारीकरणका लागि योजना बनाउन कृषि मन्त्री अधिकारीलाई सुझाव दिए।

कार्यक्रममा नेपाल मौरी पालक महासङ्घका अध्यक्ष सुवास घिमिरे, निवर्तमान अध्यक्ष शिव पौडेल, वरिष्ठ उपाध्यक्ष पदम प्रसाद अल्गाई, नेपाल मौरी पालक महासङ्घका महासचिव सालिकराम बानिया, मौरी पालक सङ्घ कालिकाका अध्यक्ष नारायण पौडेल, मौरी पालक सङ्घ भण्डाराका निवर्तमान कार्यालय प्रमुख तथा मौरी पालक किसान बाबुराम पन्त, नेपाल मौरी पालक महासङ्घका केन्द्रीय अध्यक्ष जानुका थापा, केन्द्रीय कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठ, सदस्य रवि बहादुर अधिकारी, भण्डारा मौरी विकास केन्द्र कार्यक्रमका प्रमुख सुरज अल्गाई, किट विकास निर्देशनालयका प्रमुख सावित्री बराल, राष्ट्रिय क्वारेनटाइन कार्यालयका प्रमुख भोजराज सापकोटा, नेपाल मौरी पालक महासङ्घका जिल्ला उपाध्यक्ष कमल सापकोटा, कृषि विभागका विभागीय प्रमुख, मन्त्रालयका सह सचिव, डाबर नेपालका प्रतिनिधि, मौरी पालक किसान लगायतले महको बजारीकरणमा देखिएका समस्याका विषयमा घनीभूत छलफल गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्