गण्डकी। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ऐन, कानुनका माध्यमबाट सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउनेतर्फ सरकार लागेको बताएका छन्। पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चार क्षेत्रसँग जोडिएका अधिकांश ऐन तथा विद्यमान कानुन पुराना भएका बताउँदै ती कानुनलाई समयसापेक्ष परिमार्जन गरी आवश्यकताका आधारमा नयाँ कानुन निर्माण गर्नेतर्फ सरकार अघि बढेको बताएका हुन्।
सामाजिक सञ्जाल नियमनसम्बन्धी ऐन, साइबर अपराधसम्बन्धी ऐनको मस्यौदा भएर अन्तिम चरणमा रहेको जनाउँदै उनले सार्वजनिक प्रसारण ऐन (पिएसबी), मिडिया काउन्सिल विधेयक छलफलका क्रममा रहेको बताए। सञ्चारमन्त्री गुरुङले सुशासन, समृद्धि, सरकारको प्रभावकारितालगायत क्षेत्रमा थप उपलब्धि हासिल गर्न सरकार डिजिटल नेपालको अवधारणा अनुसार अघि बढेको जानकारी दिए।
सेक्युरिटी प्रेस सञ्चालनका माध्यमबाट देशभित्रै पार्सपोर्ट, सवारी चालक अनुमति पत्र, अन्तःशुल्क स्टिकरलगायत छपाइको प्रयासमा सरकार लागेको उनको भनाइ छ। सञ्चारमन्त्री गुरुङले भने, ‘यी काम एक वर्षभित्र गर्न सक्छु भनेर प्रतिबद्ध छु। बैंक नोट पनि मुलुक भित्रै छपाइ गर्नुपर्ने योजनामा सरकार छ।’
चालु आर्थिक वर्षभित्र मुलुभर ‘फोर जी’ र मुख्य सहरहरूमा ‘फाइभ जी’ पुर्याउने मन्त्रालयको योजना रहेको सञ्चारमन्त्री गुरुङले जानकारी गराए। नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धन एवं पर्यटन क्षेत्रको विकासका लागि सरकारले योजना बनाएर कार्यान्वयनको ढाँचा बनाइरहेको उनले बताए।
सरकारले यसै वर्षभित्र संघीय प्रहरी ऐन र संघीय निजामती ऐन ल्याउन पहल गरिरहेको बताउँदै सञ्चारमन्त्री गुरुङले यी ऐन आएमा प्रभावकारी रुपमा संघीयता कार्यान्वयन हुने धारणा राखे। वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्म जाने जनाउँदै उनले पत्रकारिता जगतले समाजका नकारात्मक पक्षलाई भन्दा विकास, निर्माण, कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।