काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकार)को २३औँ राष्ट्रिय सम्मेलन आगामी असोज पहिलो साता हुनेभएको छ।
क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले आगामी असोज २ देखि ५ गतेसम्म सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरिएको जानकारी दिइन्। उनले अहिलेसम्मका लागि जिल्ला अधिवेशन भइरहेको समेत बताइन्। सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएको छ।
सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको केन्द्रीय कमिटी चयन गर्ने महासचिव दीपेश पुनले जानकारी दिए। उनका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नेछन्।
यस्तै, वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आ-आफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने छ। यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए।
सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभा हलमा हुने छ। क्रान्तिकारीले यही भदौ २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्नुपर्ने निर्देशन दिएको छ।