काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हालै सम्पन्न आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ठ सम्बन्धलाई आपसी समानता तथा लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको विश्वास व्यक्त गरेकी छन्।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको बैठकमा भारत भ्रमणका सम्बन्धमा समितिलाई जानकारी दिँदै उनले यस्तो बताएकी हुन्। परराष्ट्रमन्त्री राणाले त्यसका अतिरिक्त, भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शनसमेत गरेको बताइन्।
उनका अनुसार भ्रमणको क्रममा नेपालका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आवश्यक छलफल अगाडि बढाउने, बाढी तथा डुबान समस्या समाधानका लागि सम्बद्ध संयन्त्र परिचालन गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने विषयमा पनि कुराकानी भएको छ। परराष्ट्रमन्त्री राणाले हवाई रुट सम्बन्धमा किटानिका साथ राखेको र यसलाई प्राविधिक टोलीले आवश्यक छलफल गर्ने जानकारी दिइन्।
उनले भनिन्, ‘नेपाल प्रवेश गर्ने दुई हवाई रुटबारे किटानीका साथ हामीले कुरा राखेका छौँ, यसमा प्राविधिक टोलीले कुरा गर्ने भन्ने सैद्धान्तिक समझदारी भएको छ।’ बैठकमा सांसदहरूले उठाएको जिज्ञासामा परराष्ट्रमन्त्री डा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिएको बताइन्। आफूले भदौ २ गतेदेखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गरेको र सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि शिष्टाचार भेटवार्ता भएको उनले जानकारी दिइन्।
‘प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यायो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा उहाँलाई हस्तान्तरण गरेँ,’ मन्त्री राणाले भनिन्, ‘भारतीय प्रधानमन्त्रीले निमन्त्रणा सहर्ष स्वीकार गर्दै नेपाल भ्रमणका लागि सकारात्मक जवाफ दिनुभएको छ।’
भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा गएकी थिइन्। परराष्ट्रमन्त्री राणाले भ्रमणका दौरान भदौ ३ गते भारतका प्रधानमन्त्री मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेटघाट गरेकी थिइन्। उक्त भेटमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा कुराकानी भएको उनले उल्लेख गरिन्।