काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अधिनायकवादतिर लाने सम्भावित कदमविरुद्ध लड्न पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताएका छन्। बुधवार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठकमा अध्यक्ष प्रचण्डले देशलाई दुई दलीय शासनतिर लान खोजिएको बताएका हुन्।
अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘दुई दलीय शासनतिर देशलाई लान खोजिएको छ। त्यसले अधिनायकवादतिर लाने संकेत देखा परेको छ। पश्चगमनतिर जान खोजेको छ। त्यसलाई रोक्नका लागि जनतालाई सुसूचित गर्नुपर्छ। प्रशिक्षित गर्नुपर्छ। पार्टी एकताबद्ध भएर अगाडी बढ्नुपर्छ भन्ने निर्णय भएको छ।’
भूराजनीतिक स्थितिले गर्दाखेरि राष्ट्रियताको सवाल धेरै संवेदनशील भएको परिस्थितिमा आफूहरूले नयाँ विचारको विकास गर्दै यो जटिल परिस्थितिलाई चिर्नका लागि, चुनौतीको सामना गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउने, सुदृढ गर्ने र जनदिशा लागू गर्नतिर केन्द्रित हुनुपर्ने अध्यक्ष प्रचण्डले बताए। राष्ट्रियता, जनजीविकाका सवालहरू दिन प्रतिदिन पेचिलो बन्दै गएको उनको भनाइ थियो।
संसदमा माओवादी केन्द्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड छ। उनले सबै प्रतिपक्षलाई समाहित गर्दै अघि बढ्नुपर्ने आवश्यकता अध्यक्ष प्रचण्डले औँल्याएको प्रवक्ता सापकोटाले जानकारी दिए। ‘जनताका समस्याहरूको तथ्यांक संकलन गर्ने। सदनलाई प्रभावकारी बनाउने। अन्तरक्रिया छलफल गर्नुपर्छ,’ उनले भने, ‘सरकारले पहिलेका सरकारले गरेका सुशासन, समृद्धिका कुराहरूलाई उल्ट्याउने खालको स्थिति बनाइरहेको छ।’
यस्तै, प्रवक्ता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको बताए। प्रधानमन्त्रीले वृहत् शान्ति सम्झौताको विपरीत बोलेको उनले बताए। उनले नेकपा हुँदा दस्ताबेजमै जनयुद्धलाई सशस्त्र संघर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनियत रहेको बताए।