नेपालमा धेरै दल होइन, बलिया दुई दल भए पुग्छ : महासचिव पोखरेल

Shankar_Pokhrel
लोकपाटी न्यूज
0 Shares

सुर्खेत। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि प्रमुख दुई दल एक ठाउँमा आएको बताएका छन्। बिहीबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको राजनीतिलाई स्थायित्व कसरी गर्न सकिन्छ भनेर बहस गर्न आवश्यक रहेकोले काँग्रेस र एमाले एक ठाउँमा आएको बताएका हुन्।

पछिल्लो समय मुलुकको समृद्धि, राजनीतिक स्थायित्वका लागि मुलुकका दुई ठूला दलहरू मिलेर सरकार गठन भएको उनको भनाइ थियो। महासचिव पोखरेलले मुलुकलाई स्थायित्व दिन संविधानमा संशोधन गर्न खोजिएको पनि स्पष्ट पारे। उनले यसलाई एकतर्फीरुपमा संविधानमा भएको समानुपातिक समावेशिता खारेज गर्न खोजियो भनेर भ्रम सिर्जना गर्न खोजिएको बताए।

उनले भने,’ यो गलत हो। हामीले त यसलाई थप मजबुत गर्दै संविधानका आधारभूत पक्षलाई व्यवस्थित बनाएर आवश्यक सुधार गर्न खोजेका छौं।’ एमाले-काँग्रेसले अघि सारेको संविधान संशोधन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने जस्तो परिवर्तन उल्ट्याउन नभई व्यवस्थालाई बलियो र सुदृढ बनाउन रहेको उनले दाबी गरे।

महासचिव पोखरेलले मुलुकमा दुई दलीय प्रणाली नभई राजनीतिक स्थायित्व र समृद्धिका लागि शक्तिशाली दुई दल आवश्यक रहेको उल्लेख गरे। तर काँग्रेस एमालेले दुई दलीय व्यवस्थाको वकालत नगरेको उनको भनाई थियो। आफूहरूको आशय दुई दलीय व्यवस्था नभई फरक विचारका दुई दल भए पुग्छ भन्ने रहेको उनको तर्क छ।

‘मैले दुई दलीय प्रणालीको कुरा गरेको छैन। मुलुकको स्थायित्व र विकासका लागि दुई दल भए पुग्छ भनेको मात्रै हो। अमेरिकामा सयौं वर्षदेखि दुई दलबीच प्रतिस्पर्धा भइरहेको छ। संसद्को जननी बेलायतमा अरू दल खोल्न नपाइने हो र ? तर दुई दलबीच नै प्रतिस्पर्धा चलिरहेकै छ,’ उनले भने, ‘नेपालमा जनमत विभाजित भयो भन्ने प्रश्नसहित धेरै दल होइन, बलिया दुई दल भए पुग्छ भनेको हो। मुख्य त दुई विचार पुँजीवादको सुधार कि समाजवाद भन्ने नै हो।’