वीरगन्ज। जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री प्रदीप यादवले विकासका लागि जनताको इच्छाशक्ति र सरकारको पहल एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्। पर्सामा आज आयोजित विभिन्न बैठक तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘सहकार्य र समर्पण नै हाम्रो सबल पक्ष हो, यसले मात्र स्थानीय विकासका योजनाहरू सफल हुन सक्छन्। त्यसैले सरकार र जनताको संयुक्त प्रयासबाटै विकास गतिविधि अगाडि बढाउन लागौं,’ उनले भने। मन्त्री यादवले जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधानका उपायहरूलाई शीघ्र कार्यान्वयनमा ल्याउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाए।
उनले समाजवादको मार्गदर्शनअनुसार जनहितलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे। उपमहासचिव यादवले पर्सागढीको विकास र समृद्धिका लागि ठोस योजना बनाएर कार्यान्वयनमा दृढतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए। ‘स्थानीय जनताका समस्यालाई नजिकबाट बुझेर, तिनको समाधान गर्ने दिशामा अगाडि बढ्न हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘हामीले पर्सागढीका आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि विशेष प्याकेज लिएर आउँदैछौं।’
मन्त्री यादवले जनप्रतिनिधि जनताको सशक्तीकरण र सेवामा समर्पित हुनुपर्ने बताए। उनले भने, ‘जनताले देखाएको विश्वास र समर्थनको सम्मान गर्दै हामी वीरगन्जलाई समृद्ध र विकासको नमूना सहर बनाउने योजना लिएर आएका छौं। यो सबैको सहयोगबिना सम्भव छैन, त्यसैले सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्नेछ।’