बन्दीपुरहिल तीज सप्ताहन्न उत्सवमा एकता मगर समाज प्रथम

teej-mahotsab-tanahu
लोकपाटी न्यूज

तनहुँ। पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा ८ दिने तिज मेला सम्पन्न भएको छ। महानायक राजेश हमालले उद्घाटन गरेका उक्त मेलामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई प्रमुख अतिथिको रुपमा अवलोकन गराइएको थियो। तिज सप्ताहन्न उत्सवको ब्रान्ड दिइएको उक्त कार्यक्रममा ‘तिज प्रतियोगिता’ र ‘वृहत्तर सांस्कृतिक तिजे कन्सर्ट’ आयोजना गरिएको थियो।

तिज गीत प्रतियोगितामा ३७ समूहले भाग लिएका थिए। प्रतियोगिता दुई चरणमा गराइएको थियो। पहिलो सहभागिताको छनौट चरण र फाइनल चरण भनेर प्रतियोगिता अगाडि बढेको थियो। फाइनल राउन्डमा २१ समूहहरूको प्रस्तुति गरिसकेपछि प्रथम, द्धितिय, तृतीय, चौथौं बाहेक उत्कृष्ट १० समूह, उत्कृष्ट नृत्य, उत्कृष्ट भेसभुसा समेत र उत्कृष्ट शब्द चयन तथा प्रस्तुति विधा गरी १७ टिमले पुरस्कार प्राप्त गर्न सफल भएका थिए।

उत्कृष्ट नृत्य, उत्कृष्ट भेसभुसाको लागि समेत पुरस्कारको व्यवस्थापन गरिएको थियो। प्रतियोगितामा प्रथम स्थान एकता मगर समाज म्याग्दे तनहुँले हासिल गरेको थियो भने, द्वितीय स्थान वाग्लुङ्ग जिल्लाको वाग्लुङ्ग कालिका भजन कृर्तन सत्सङ्गले हासिल गरेको थियो। तृतीय स्थान तनहुँको भानु हरियाली प्राकृतिक कृषक महिला समूह र चौथो बन्दीपुरको केराबारी महिला समूहले हासिल गरेको थियो।

उत्कृष्ट शब्द सहितको प्रस्तुतिको पुरस्कार भने ड्राइभ ईन सिस्टर ग्रुपले जित्न सफल भएको छ। उत्कृष्ट भेसभुसा पालुङ्गटार नगर स्तरीय महिला सञ्जाल गोरखा, उत्कृष्ट नृत्य क्षेत्री समाज सांस्कृतिक समूह, नेपाल तनहुँ यी बाहेक उत्कृष्ट १० समूहहरूमा पहिलो नम्बरमा व्यास ज्योति धर्म जागरण आमा समूह तनहुँ, दोस्रो सफल उद्यंमशिल महिला समूह पोखरा, तेस्रो नारी सेवा आमा समूह तनहुँ, चौथो सशक्तीकरण महिला लघुद्यंमशिल क्लब पोखरा, पाँचौँ दिपज्योेति आमा समूह तनहुँ, छैटौँ अकला मा.वि. पालुङ्गटार गोरखा, सातौँ खड्गमाई आमा समूह बन्दीपुर तनहुँ, आठौँ तल्लो खहरे आमा समूह तनहुँ, नवौँ वडहरवोट आमा समूह पोखरा र दशौँमा जनजारण आमा समूह पुरस्कृत भएका थिए।

कार्यक्रम खड्गदेवी मन्दिरको प्राङ्गणमा भाद्र १५ गते देखि २२ गते सम्म सञ्चालित थियो। हरेक दिन तीन जना निर्णायक रहेको समूहले निर्णय सार्वजनिक गरेको थियो। प्रतियोगिताले तिजको मौलिकता र आजको आवश्यकता के हो भन्ने कुरा बुझ्नको लागि बढी जोड गरेकोले परिणाम समेत त्यही अनुरूप आएको निर्णायक एवं कार्यक्रम सांस्कृतिक विभाग प्रमुख डा. तुलसीराम खनालले बताए। सो उत्सवमा ख्यातीप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति रह्यो। रिता के.सी, पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, शान्ति डोेटेल, सुनिता नेपाली, रेशम निर्दोष, सावित्रा हड्खले, सिता परियार, शर्मिला गुरुङ, उमादेवी खनाल लगायत दुई दर्जन कलाकारहरूले बन्दीपुरलाई सङ्गीतले गुलजार बनाएका थिए। यसका साथै हरेक दिन बन्दीपुरका स्थानीय जातजातिका सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो। उत्सवमा २१ हजार जनाभन्दा बढीको सहभागिता रहेको संयोजक श्री किरण पोख्रेले दाबी गरे ।

बन्दीपुरको धार्मिक एवं सांस्कृतिक पक्ष प्रस्फुटन गराउने उद्देश्यसहित आयोजना गरेको यस उत्सवको संरक्षक बन्दीपुर गाउँपालिका, प्रमुख व्यवस्थापक एवं प्रायोजक बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड, सह प्रयोजक गोरखा ब्रुअरी, बन्दीपुर ह्विस्की, प्रमुख पुरस्कार प्रायोजक चन्द्र निर्माण सेवा प्रा.लि., द्वितीय पुरस्कार प्रायोजक डिजाइन स्टेसन प्रा।लि।, तृतीय पुरस्कार प्रायोजक बीज बजार लिमिटेड, चौथो पुरस्कार प्रायोजक केज कन्सल्टेन्ट प्रा।लि। र सह प्रायोजक अन्य पुरस्कारहरू बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रायोजन गरेको थियो।

उत्सव आयोजकको रूपमा प्रमुख आयोजक बन्दीपुरहिल र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेड, सह आयोजकको रूपमा पर्यटन विकास समिति बन्दीपुर, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर इकाइ, क्षेत्रीय होटेल सङ्घ बन्दीपुर, रेवान बन्दीपुर जिल्ला बार एसोसिएसन, आरकेडी महिला उद्यंमशिल क्वल, बन्दीपुर गा.पा. सांस्कृतिक विभाग रहेका थिए। कार्यक्रमले बन्दीपुरको सांस्कृतिक पक्षको प्रवर्धन गर्न सफल भएको मुख्य आयोजक एवं प्रायोजक बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले दाबी गरेको छ। तिज सप्ताहन्न उत्सव कार्यक्रम सम्पन्न गर्नको लागि लगभग २१ लाख रुपैयाँ खर्च भएको आयोजकले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्