काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभामुखलाई हटाइए सत्तारुढ दलहरूका लागि आत्मघाती हुने चेतावनी दिएका छन्। बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेका छन्।
यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर आफूले सचेत गराएको उनले बताए। उनले दुई तिहाइको शक्ति भएको सरकारको प्राथमिकताहरू धेरै भएको भन्दै शक्तिको सदुपयोग नगर्न आग्रह गरेको पनि उल्लेख गरे। प्रधानमन्त्रीले आफू सो विषयमा छलफलमा रहेको जानकारी दिएको सभापति लामिछानेले बताए।
‘छलफल गर्न गएँ र उहाँलाई मैले भनेँ- गलत गर्दै हुनुहुन्छ। गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ। दुई तिहाइ सरकारका प्राथमिकता धेरै छैन। दुई तिहाइ भनेको शक्ति हो। त्यो शक्ति कहाँ प्रयोग गर्ने भनेर बुझ्नुहुन्छ होला। उहाँलाई सौहादपूर्णरूपमा मैले गलत हुन्छ भनेँ। यसले जुन बाटोतर्फ, यदि सत्य हो भने जे सोचिरहनु भएको छ। अत्यन्त घातक हुन्छ,’ उनले भने।