काठमाडौं। नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ। बुधवार जनयुद्धलाई ‘हिंसा’ को रुपमा व्याख्या गरिएको भन्दै माओवादी केन्द्रले संसद अवरुद्ध गरेको हो।
सभामुख देवराज घिमिरेले १२ भदौमा नेकपा एमाले सांसद योगेश भट्टराईले बोलेको हिंसा शब्द रेकर्डबाट नहटाउने निर्णय गरेपछि नेकपा माअोवादी केन्द्रले संसद अवरोध गरेको हो ।
सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताएका थिए। उनले सभामुख र संसद सचिवालयले योगेश भट्टराईको भाषणबाट हिंसा शब्द नमेटाउने निर्णय पूर्वाग्रही रहेको बताए। सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न नदिएपछि माओवादी सांसदहरु सिटबाट उठेर संसद अवरोध गरेका हुन्।
सभामुखले बैठक सञ्चालनमा लागि सहयोग गर्नआग्रह गरेपनि यसबारे संसदमा बहस हुनुपर्ने माओवादी केन्द्रले अडान राख्यो। त्यसपछि सभामुखले अर्को बैठक भदौ ३० गते बस्ने जानकारी गराउँदै आजको बैठक स्थगित भएको घोषणा गरे।