कश्मिरमा विद्रोही र सुरक्षा बलबीच बढ्न थाल्यो झडप

Jammu_Kashmir
लोकपाटी न्यूज

एजेन्सी। विवादित हिमालय क्षेत्र जम्मु-कश्मिरमा एक दशकमा हुन लागेको विधान सभा निर्वाचनको केही दिनअघि कश्मिरमा भएको सन्दिग्ध आतङ्कवादीसँगको गोली हानाहानमा दुई भारतीय सैनिकको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन्।

भारत प्रशासित कश्मिरमा दश वर्षपछि हुन लागेको पहिलो विधान सभाको चुनाव नजिकिँदै गर्दा विद्रोही र सुरक्षा बलबिच झडप बढेको देखिएको छ। ‘बहादुरको सर्वोच्च बलिदान’लाई श्रद्धाञ्जली दिँदै शुक्रबार किश्तवाड जिल्लामा गोली हानाहान भएको भारतीय सेनाले सामाजिक सञ्जाल एक्समार्फत बताएको छ।

सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मिर भारत र पाकिस्तानबीच विभाजित भएको हो र दुवै देशले यसलाई पूर्णरूपमा दाबी गर्दै आएका छन्। विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्।

पैँतिस वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु-कश्मिर क्षेत्रमा करिब ५ लाख भारतीय सेना तैनाथ गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यसको आंशिक स्वायत्तता रद्द गरेपछि सन् २०१९ देखि यो क्षेत्र निर्वाचित स्थानीय सरकारबिना रहेको छ।

सेप्टेम्बर १८ बाट सुरु हुने निर्वाचनमा कुल ८.७ मिलियन मानिस यस क्षेत्रको विधान सभामा मतदान गर्न योग्य छन्, जसको परिणाम अक्टोबरमा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्