नियमसङ्गत चलाएमा सहकारीहरू डुब्दैनन्, यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरू नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका छन्।

सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको आज सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैर सहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरूको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताएका हुन्।

अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरूले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्त्व दिएको स्पष्ट गरे। प्रधानमन्त्री ओलीले सरकार अनियमितता, बेथिति, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट गरे।

‘विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो। स-सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरूमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्त्वपूर्ण पक्षहरू छन्,’ उनले भने, ‘समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस्। समितिले सरकारलाई निर्देश गरोस्। त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ।’