चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर- ७ ‘बालमैत्री वडा’ घोषणा

chautara-pic
लोकपाटी न्यूज

सिन्धुपाल्चोक। ६० औँ राष्ट्रिय बालदिवसको अवसर पारेर चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर- ७ लाई बालमैत्री वडा घोषणा गरिएको छ।  शनिबार सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ वटा सूचक पूरा गरेसँगै चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर- ७ लाई बालमैत्री वडा घोषणा गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले वालमैत्री वातावरण तयार गर्न खटिने सवैलाई धन्यवाद व्यक्त गरे। नगरलाई समृद्ध बनाउने विभिन्न आयामहरु मध्ये बालमैत्री वडा पनि एक भएको उनले बताए। मेयर सापकोटाले आगामी दिनमा प्रभावकारी कार्यान्वयनको लागि सवैको दायित्व रहने बताए ।

उपप्रमुख सीता थापाले नगरको मूल मर्मलाई आत्मसाथ गर्न वडा नम्बर- ७ ले सहयोग गरेको बताइन्। आगामी दिनमा कुनै खालको बालअधिकार हनन हुने क्रियाकलाप हुन नदिन सवै सरोकारवाला पक्ष लाग्नुपर्नेमा उनले जोड दिइन्।

वडाको कुल ९ सय ५४ घरधुरीका १३ सय ८३ जना वालवालिका रहेका छन्। वडाको सिद्धिगणेश मावि, ज्ञानमन्दिर नमुना मावि, कल्लेरी आवि र नवज्वती वालबिकास केन्द्रमा गरि जम्मा ८ सय ७१ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्। नगरभित्र विभिन्न कारणले समस्यामा परेका बालवालिकाहरुलाई शिक्षाको वातावरणबाट टाढा हुन नदिन स्थापना गरेको शहीद स्मृति बालग्राम पनि सोही वडाको दरवारडाँडामा रहेको छ। उक्त बालग्राममा २० जना वालवालिका आवाससहितको सुविधा लिएर ज्ञानमन्दिर नमुना माविमा अध्ययन गर्दै आइरहेका छन्।

यस्तै, वडाले प्रकाशनमा ल्याएको बालवालिका स्थिति २०८१ को नगरप्रमुख र उपप्रमुखले सार्वजनिक गरे। उक्त संगालोको बारेमा वालमैत्री वडा घोषणा सहजिकरण उपसमितिका संयोजक राजकुमार यादवले प्रष्ट्याएका थिए।

कार्यक्रममा वडाको अभियानमा सहयोग गर्ने शिक्षा, स्वास्थ्य, वन, खानेपानी लगायतका सवै क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।कार्यक्रममा हाँस्यकलाकार घनश्याम तिमल्सीनाको प्रस्तुती, स्थानीय नेवारी धिमेवाजा, विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।