सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा दुईदिने दन्त शिविर सञ्चालन हुने भएको छ। शिविर महिला सशक्तिकरण तथा बालबालिका उत्थान समाज, चौताराको आयोजना तथा जुगल गाउँपालिकाको समन्वयमा सञ्चालन हुन लागेको हो ।
शिविर असोजको पहिलो साता ७ र ८ गते सञ्चालन गरिने पालिकाले जनाएको छ। दुईदिन सञ्चालन हुने शिविरमा दाँत निकाल्ने, दाँत मिलाउने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने र रक्तचाप, सुगर तथा तौल जाँच गरिने जनाएको छ ।
शिविरको पहिलो दिन अर्थात असोज ७ गते विहान ८ः३० देखि साँझ ५ बजे सम्म गाउँपालिकाको कार्यालय चनौटेमा सञ्चालन हुने छ भने असोज ८ गते सोही समयमा नवज्योति आवि कात्तिके बजारमा सञ्चालन गरिने पालिकाले जनाएको छ ।