अपवित्र वर्तमान गठबन्धन चाँडै कुहिएर झर्छ : प्रचण्ड

Prachanda_PM
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताएका छन्। अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय उद्घाटन गर्दै उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताएका हुन्।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आम सहमति जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको बेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ।’

उनले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्त्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताए। ‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेको बेलामा मध्य पहाडी लोक मार्गको अवधारणा अघि सारेँ, जो निर्माण सम्पन्न हुने चरण छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘चुरेको काखबाट पूर्वपश्चिम मदन भण्डारी लोक मार्ग पनि हाम्रै अवधारणामा अघि सुरु गरिएको हो, जो निर्माण कार्य भइरहेको छ।’

त्यस्तै आफूले अघि बढाएको उत्तर दक्षिण कोरिडोर र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अघि बढाइएको काठमाडौंको करिडोर अवधारणा पनि माओवादी सरकारकै विकास नीतिको परिणाम भएको बताए। आफूले पहिलो पटक सरकारको नेतृत्व गर्दा हजारौं किसानको ऋण मिनाहा गरेको स्मरण गर्दै उनले शंखधर खाख्वाले ऋणमुक्त गरेको घटनापछि आधुनिक नेपालको इतिहासमा ठूलो संख्यामा किसानलाई ऋणमुक्त गरिएको यो नै पहिलो घटना भएको बताए।

अध्यक्ष प्रचण्डले आफूले दोस्रो पटक सरकारको नेतृत्व गर्दा जनार्दन शर्मालाई उर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएर नेपाली जनतालाई लोडसेडिङको कालरात्रिबाट मुक्त गरेको बताए। त्यति नै बेला संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अन्योलको बीचमा मधेशी दलहरूलाई समेत सहमतिमा ल्याएर संविधान कार्यान्वयन र मुलुकलाई चुनावमा लैजाने काम पनि गरिएको उनले स्पष्ट गरे।

आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतिहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताए। ‘हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्तिहरू कारबाहीमा परेको पहिलो पटक हो,’ उनले भने, ‘सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौं श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए।’

उनले आर्थिक समृद्धिको सवालमा लिएका महत्त्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्ने क्रम सुरु भएको बताए। उनले तेस्रो पटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्र सङ्घको महासभा हुँदै कोप २८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरकरुपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको बताए। आफूले अल्पविकसित राष्ट्रहरूको पक्षमा लिएको अडान मात्र होइन, कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाइमा उठाएको बताए।

उनले पछिल्लो सरकारको नेतृत्व गर्दा शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको बताए। त्रिविमा मेरिटोक्रेसी लागु गर्ने, वर्षौंदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र सङ्घीय शिक्षा ऐन सदनमा पुर्‍याउने काम आफ्नो नेतृत्वको सरकारले नै गरेको स्पष्ट गरे।

‘अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्छौं’

अध्यक्ष प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने बताए। ‘सरबाट थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ।’ भर्खरै श्रीलंकामा भ्रष्टाचार विरोधी एजेण्डा स्थापित गरेर वामपन्थी राष्ट्रपति निर्वाचित भएको घटना विद्यार्थीहरूलाई सुनाउँदै उनले यो अभियान नेपालमा पनि सशक्तरुपमा अघि बढ्ने बताए।

सरकारमा रहँदा दलाल पुँजीपतिहरूको राइदाईमाथि जेहाद छेडेको उल्लेख गर्दै उनले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने बताए। ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं। तिमीहरू मिलेर बस भनेका छौं तर हामीले चाहँदैमा उनीहरू मिल्दैनन्। अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ,’ अध्यक्ष प्रचण्डले भने।

विरोधीहरूले सधैँ षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरूको दायित्व हुने अध्यक्ष प्रचण्डको भनाई थियो। ‘हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो। अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौं। संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौं। अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौं, त्यसका लागि तपाईँ विद्यार्थीहरू तयार हुनुहोला।’

‘राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो’

अध्यक्ष प्रचण्डले अहिले ठूलाठूला शक्ति राष्ट्रहरूको अस्वस्थ प्रतिस्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखा पर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताए। भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वब्यापीरुपमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उनले विद्यार्थीहरूलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गरे।

विदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने वामपन्थीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्न सक्ने उल्लेख गर्दै उनले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताए।

‘पार्टीभित्र विचार संश्लेषण र समाजवादी क्रान्तिको तयारीलाई प्राथमिकता’

अध्यक्ष प्रचण्डले एक्काइसौं शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौं राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको बताए।

अब धेरै विषय केन्द्रीय समिति बैठकले टुङ्ग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित बढ् नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने उनले स्पष्ट गरे। माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले यो बेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताए।

गुटबन्दीमा नलाग्ने निर्देशन

अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि उर्जा हुने बताए। उनले इकाई देखि प्रदेश सम्मेलनसम्म विद्यार्थीहरूले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि ऊर्जाको अवसरको रुपमा अघि बढाउने विश्वास व्यक्त गरे। उनले विधिमा जाने भएपछि जो जितेर आउँछ उही सङ्गठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनै खालको गुटबन्दी गर्न विद्यार्थीहरूलाई निर्देशन दिए।