काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बाढीपहिरो र डुबानमा परेकालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउन गैरसरकारी सङ्घसंस्थाहरुलाई आग्रह गरेका छन्।
समाज कल्याण परिषद्का अध्यक्षसमेत् रहेका सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको उद्धार तथा राहतमा जुट्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका हुन्।
मन्त्री सुडीले आइतबार आकस्मिक बैठक आयोजना गरी मुलुकमा पछिल्लो केही दिनयता अकल्पनीय विपद्को सामना गर्नुपरेको बताए। विगतमा बाढी नआउने क्षेत्रमासमेत बाढीपहिरोको समस्या देखिएकाले उनले यसपटक काठमाडौंले ठूलो बाढीको सामना गर्नुपरेको बताए।
‘यसपटक निकै विकराल अवस्था देखिएको छ, धनजनको क्षति ठूलो मात्रामा भएको छ, क्षतिको पूर्ण विवरण आउन बाँकी छ,’ मन्त्री सुडीले भने। जिल्लामा विपद् व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासनलाई दिइएकाले उनीहरूमार्फत दोहारो नपर्ने गरी योगदान गर्न उनले निर्देशन दिए।