जलवायु अनुकूलन र दिगोपनाको लागि विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ : प्रधानमन्त्री

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गरेका छन्। संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपालले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्‍याए।

‘जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेमा हामी विश्वस्त छौं। नेपालजस्ता मुलुकका लागि राष्ट्रसङ्घको मार्गनिर्देशनले राष्ट्रका अस्तित्व जोगाउन सहयोग पुर्‍याउने छ,’ उनले भने, ‘विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसङ्घका सिद्धान्त र प्रतिबद्धताप्रति अडिग छ। शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण तथा प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौं।’

नेपालको परराष्ट्र नीतिको एक अङ्गका रूपमा रहेको शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्त पालना भइरहेको अवगत गराउँदै प्रधानमन्त्री ओलीले दुई ठूला छिमेकीबीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग पनि शत्रुता नराख्ने’को नीति कायम राखेको उल्लेख गरे।