लैङ्गिक असमानताका मूल कारण निर्मूल गर्नुपर्छ : मन्त्री सुडी

Nawalkishor_Shah_Sudi
लोकपाटी न्यूज

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलालाई राज्यका नीति निर्माण प्रक्रियामा पूर्ण र समान साझेदार बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्। आज यहाँ आयोजित नेपालको बेइजिङ प्लस ३० समीक्षा कार्यक्रममा उनले महिला राजनीतिक र आर्थिक सशक्तीकरणसँगै भेदभाव उन्मुलनमा मात्र नभई सबै नीति निर्माण प्रक्रियामा पूर्ण र समान साझेदारका रुपमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन्।

‘महिला विकासको बलियो स्तम्भका रुपमा भूमिका खेल्नसक्नेमा दृढ विश्वास राख्छु,’ मन्त्री सुडीले भने, ‘महिला अधिकारका लागि निरन्तर पहल गरिरहेकाले महिला र बालबालिकाका लागि सहज र समान समाज विकास गर्न आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु।’ उनले सरकार र नागरिक समाजसँगै मिलेर लैङ्गिक असमानताका मूल कारण निर्मूल गर्नुपर्नेमा जोड दिए।

बेइजिङ प्लस ३० समीक्षा सम्मेलनले महिला र बालबालिकाको सशक्तीकरणमा योगदान पुर्‍याउने मन्त्री सुडीले विश्वास व्यक्त गरे। उनले महिला तथा बालबालिकाका क्षेत्रमा रहेका समस्याको उजागर गर्दै समाधानको बाटो पहिल्याउने गरी तथ्यपरक प्रतिवेदन बनाउन सुझाव दिए।

‘बेइजिङ समीक्षा र कार्ययोजना महिला सशक्तीकरणका लागि दूरदर्शी एजेण्डा हो। यसले निजी र सार्वजनिक सबै क्षेत्रमा महिला सशक्तीकरणका लागि सरोकार भएका क्षेत्रहरू पहिचान गरेको छ,’ मन्त्री सुडीले भने, ‘राष्ट्रियस्तरको यस छलफलले लैङ्गिक समानताका क्षेत्रमा काम गर्नेहरूसँग संलग्न हुन र अझै पनि पिछडिएका व्यक्तिहरूको समस्यालाई उजागर गर्न सरकार र सरोकार भएकाहरूको ध्यानाकर्षण गराउने अवसर प्रदान गर्नेछ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्