सभापति लामिछाने पक्राउको विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन

Rabi_Birodh_KTM
लोकपाटी न्यूज

काठमाडौं। सहकारी ठगी प्रकरणमा आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ। रास्वपाले पोखरापछि शुक्रबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारीको पैसा गोर्खा मिडियामा ल्याएर अपचलन गरेको अभियोग छ। कास्की प्रहरीले उनीमाथि सङ्गठित अपराध समेतको कसुर लगाएर दोस्रो पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

उक्त पक्राउलाई रास्वपाले आफूमाथि प्रतिशोध साँधिएको अर्थ्याएको छ। जसअनुसार रास्वपा पक्राउ परेदेखि नै सडकमा छ। उता पक्राउ पर्नुअघि र हिरासतमै रहँदा लामिछानेले पनि आफूमाथि प्रतिशोध साँधिएको भन्दै आन्दोलनमा उत्रन आह्वान गरेका थिए।

पक्राउपछि लामिछानेलाई पहिलो पटक कात्तिक ४ गते अदालतमा पेस गर्दा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो। त्यो म्याद सकिएपछि बिहीबार फेरी अदालतमा पेस गर्दा थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले बाटो खोलिएको छ।

प्रहरीले लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण लगायतका कसुरमा अनुसन्धान गरिरहेको छ। उता बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि बिहीबार रुपन्देही जिल्ला अदालतले लामिछाने लगायत १२ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिरहेको छ।