जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री

KP_Oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागिपर्ने बताएका छन्।

युवासङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइ)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै उनले विकास, प्रगति र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन्।

‘विकासको तिर्खाबाट हामी ग्रस्त छौं। त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ। हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ। यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ,’ उनले भने, ‘एसईईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ। यस्ता क्षेत्रमा एआईको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआई एजुकेसनको केन्द्र कसरी बनाउने भन्नेमा हाम्रो ध्यान रहेको छ।’

प्रधानमन्त्री ओलीले आटिर्फिसियल इन्टेलिजेन्स्सम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए।