‘जापान जाँदा कामदार नठगिउन्’ : मन्त्री विष्ट

gokarna bista
लाेकपाटी न्यूज

काठमाडौँ, २३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनुपर्नेमा जोड दिएका छन् ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गरेको शिष्टाचार भेटमा मन्त्री विष्टले कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी रुपमा हुनुपर्ने बताएका हुन् ।

नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा बिचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत उनले बताए । सो अवसरमा मन्त्री विष्ट र राजदूतबीच दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

भेटमा राजदूत साइगोले नेपाली श्रमिकलाई पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा जापान पठाउने सन्दर्भमा जापान सरकारको धारणा सकारात्मक रहेको बताएका थिए । उनले नेपाली कामदारलाई जापान लैजाने विषयमा कार्य अघि बढिसकेको जानकारी गराएका थिए ।

नेपाली कामदारलाई जापान लैजाने विधि र प्रक्रियाका बारेमा छलफल गर्न जापानबाट प्राविधिक समूह आगामी माघमा नेपाल आउँदैछ । त्यसलगत्तै नेपाल–जापानबीच श्रम सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।