वामदेवले गरे ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा

Bamdev_Gautam
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन्। ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा एक कार्यक्रमको आयोजना गरेर अभियानको घोषणा गर्ने भएका हुन्।

गौतम संयोजक रहेको अभियान ६ सय ५१ सदस्यीय तथा कार्य सम्पादन समिती १ सय ७५ सदस्यीय छ। समितिमा नेकपाका केस हरि पराजुली, गौतम पत्नी सांसद तुलसा थापा, माया ज्ञवाली, त्रिविविका पुर्व उपकुलपति हिरालाल महर्जनलगायत छन्।

कार्यक्रम सहभागीलाई नेकपा एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ। अवधारणापत्रमा पार्टी एकताको कारण अध्यक्षद्वय बीचको अविश्वासलाई चित्रित गरिएको छ। उपाध्यक्ष गौतम नेकपा विभाजनको विपक्षमा उभिएका छन्। उनले पार्टी विभाजनलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएका छन्।

संसद् विघटनसँगै नेकपा ओली र प्रचण्ड-माधव नेपाल पक्षमा विभाजित भए पनि गौतम तटस्थ छन्। उनले नेकपालाई एकताबद्ध गर्न सक्दो प्रयास गर्ने बताउँदै आएका छन्। सोमबार गौतमले आफूलाई जुन समूहले अध्यक्ष दिन्छ त्यही समूह गएर पार्टी एकता अभियान सञ्चालन गर्ने अभिव्यक्ति दिएको खबरहरू सार्वजनिक भएको थिए। तर पछि उनले उक्त समाचारको खण्डन गरेका थिए।

गौतमले ‘जसले अध्यक्ष दिन्छ, त्यही समूहमा जान्छु’ भन्ने समाचार गलत भएको प्रतिक्रिया दिएका थिए। विगत केही समयदेखि वामदेव गौतमलाई विभिन्न किसिमले अपमान गर्ने, उहाँका विचार, अभियान र विधि पक्षधर कार्यशैलीमाथि भ्रम सिर्जना गराउने कामहरू योजनाबद्ध रूपमा हुँदै आएको उनको दाबी छ।