‘निर्वाचन आयोगले पार्टी फुटाउँदै हिँड्न मिल्दैन’

Election Commission
लोकपाटी न्यूज

काठमाडौं। निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवादबारे कुनै निर्णय नगरेको जनाएको छ। ओली समूहको नेकपाका नेताहरूसँग सामान्य छलफल गरेपछि आयोग परिसरमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै निर्वाचन आयुक्त इश्वरी पौड्यालले आधिकारिकता दाबी गर्न कुनै पनि समूह नआएकाले आयोगले त्यसबारे निर्णय नगरेको बताएका बताए।

‘नेकपाको आधिकारिक विवादमा नेकपाले निर्णय गरिसकेको अवस्था होइन’, आयुक्त पौड्यालले भने, नेकपामा दुई गुट भएपनि हामीलाई आधिकारिकता देऊ भनेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (१) अनुसार कुनै पनि गुट नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न नै भएन।’

नेकपाको दुवै समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार अभिलेखीकरणका लागि निवेदन दिएको र त्यसैमा केन्द्रित रहेर आयोगले निर्णय गरेको पौड्यालको प्रष्टीकरण छ। ‘कसैले म आधिकारिक हो भनेर कानूनबमोजिम दाबी पेश गर्दैन भने बाटो-बाटोमा निर्वाचन आयोगले कसैलाई तिमी आधिकारिक हो भन्दै हिँड्दैन। आधिकारिकताबारे आयोगले केही निर्णय गरेकै छैन’, आयुक्त पौडेलले भने, ‘उहाँहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार हाम्रो अभिलेखिकरण गरिदिनुस् भनेर निवेदन दिनुभएको थियो। पुस ५ गतेभन्दा पहिला उहाँहरुले आयोगमा पेश गरेको विधानमा भएको व्यवस्था, राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार नै २०७५ जेठ ३ गते निर्वाचन आयोगमा दर्ता भएको साविक पार्टीकै जे विवरण थिए त्यहि सही हो भन्ने विवरण हामीले पठाएका हौं।’

बाहिर ओली पक्षले आधिकारिकता दाबी गरेको बारे आयुक्त पौडेलले भने, ’उहाँहरूले बाहिर जेसुकै बोले पनि हामीलाई लेखेको पत्रमा अलग्गिएको कुरै छैन। आधिकारिकता दाबी नै नगरी आयोगले पार्टी फुटाउँदै हिँड्न मिल्दैन।’ निर्वाचन आयुक्त पौडेलले ओलीले आयोगले छिट्टै दुवै पक्षसँग संयुक्त छलफल गर्ने बताए।