ओलीले आफ्ना कदम नसच्याए जनआन्दोलनको घोषणा गर्छौं : नेपाल

madhav_nepal
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमन नसच्चिए उनको सत्ताच्यूतका लागि आन्दोलन गर्ने चेतावनी दिएका छन्। राजधानीमा आम हडतालमा सहभागी हुँदै अध्यक्ष नेपालले ओलीको बढ्दो तानाशाही प्रवृत्तिको अन्त्य र उनको सत्ताच्यूतको लागि शक्तिशाली आन्दोलन गरिने बताएका हुन्।

कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले संघीयता धर्मनिरपेक्षा, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका उपलब्धिसहित संविधान नै मास्न खोजेकाले आम हडताल गर्न बाध्य भएको बताए । ओलीमा लोकतन्त्र र संघीयताप्रति कुनै पनि अपनत्वबोध नभएको उनले बताए। फागुन पहिलो साता सबै पक्षसँग मिलेर ठूलो आन्दोलन घोषणा गर्ने तयारी गरिएको उनले बताए।

‘हामीले पार्टीभित्र भोग्यौं, सरकार सञ्चालनको क्रममा पनि देख्यौं उनको हरेक कदममा छलकपट छ। उनमा संविधान र गणतन्त्रप्रति आफ्नोपनको भावना छैन। संघीयताप्रति कुनै सरोकार पनि छैन,’ नेपालले भने, ‘ओलीले एकातिर चुनाव गर्ने भन्छन् भने अर्कोतिर ७७ जिल्लाहरूमा यो कामचलाउ सरकारले भूमि आयोग बनाएर धमाधम नियुक्ति गरेका छन्। २८ गते अहिलेसम्मकै ठूलो जनआन्दोलन हुन्छ।’

आम हडतालबाट गरिखाने वर्गलाई असुविधा पुगेकोप्रति उनले क्षमा समेत मागेका छन्। ‘तपाईंहरुलाई पर्न गएको असुविधाप्रति म क्षमा माग्न चाहन्छु। तपाईँहरूको एक दिनको धैर्यताले निरंकुश र तानाशाही शासकलाई खबरदारी पुग्नेछ,’ उनले भने। नेपालले ओलीले आफ्ना कदम नसच्चाए उनलाई हटाउने गरी आन्दोलन गरिने बताए ।

‘अब निरंकुश र तानाशाही प्रवृत्ति धेरै सहने पक्षमा हामी छैनौं। आन्दोलनले तेस्रो जनआन्दोलनको झल्को दिएको छ। हामी निरंकुश र तानाशाही बन्दै गएका ओलीलाई आन्दोलनमार्फत नै सडकमा ल्याउनेछौं,’ उनले भने। प्रतिगमन सच्याउने उद्देश्यसहितको संयुक्त आन्दोलनका लागि अन्य राजनीतिक दल र नागरिक समाजसँग छलफल भइरहेको नेपालले बताए।