‘प्रधानमन्त्री ज्यू, बेलैमा आँखा खोल्नुस्, नत्र चुप लागेर बस्दैनौं’

Dr. Muktiram Shrestha
लाेकपाटी न्यूज

काठमाडौं, २९ पुस । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले बेलैमा अनशनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने स्पष्ट पारेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई गलत सल्लाह नदिन म नेकपाका सांसदहरुलाई आग्रह गर्दछु । वार्ता समिति बनाएर वा आँफै पहल गरेर भएपनि प्रधानमन्त्रीज्यूले डा. केसीको माग सम्बोधन गर्नुहोस भनेर म यही मञ्चबाट आग्रह गर्दछु ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री ओलीले डा. केसीको माग सम्बोधन गर्न समयमै दिमाग र आँखा खोल्नुपर्ने पनि बताए । सरकारले दुई तिहाईको दम्भ देखाउन नहुने उनको सुझाव छ ।

साक्षात्कारमा बोल्दै उनले सरकारले कु–सोच राख्न नहुने धारणा राखे । उनले भने, ‘आवश्यक पर्‍यो भने हामी पनि चुप लागेर बस्दैनौं । हामी कम बोल्छौं तर काम गरेर देखाउँछौं ।’ सरकारले अहिले दम्भ र उत्तेजना देखाउन बेला नभएको पनि उनले तर्क गरे ।

गोविन्द केसी सरकारी कर्मचारीमात्रै नभएर तीन करोड नेपालीहरुको अभियन्ता पनि भएको श्रेष्ठले बताए । उनले भने, ‘जनताले संघर्ष गर्दा मुलुकमा भएका शक्तिशाली संस्थाहरुपनि धराशयी भएका इतिहास छ ।’

उनले आफूहरु डाक्टर केसीको पृष्ठपोषक नभएको पनि जिकिर गरे । श्रेष्ठले भने, ‘डाक्टर केसीले उठाएका मागहरु त कम्युनिष्ट सरकारले उठाउनुपर्दथ्यो । कम्युनिष्ट सरकारले उठाउनुपर्ने कुरा उठाइदिनुभएको छ ।’ उनले डाक्टर केसी संघको आजीवन सदस्य भएकोले उनको जीवन रक्षाको लागि सरकार गम्भिर बन्नुपर्ने पनि बताए ।

वर्तमान सरकारले डाक्टर केसीसँग सम्झौता गरेको तर कार्यान्वयन नगरेकोमा उनले गुनासो पोखे । उनले भने, ‘सरकारले कि नसक्ने भए हामी सक्दैनौं भनेर पहिल्यै भन्नुपर्‍थ्यो । तर, सम्झौता गरेपछि लागू गर्नुपर्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्