आईपीओ निष्कासनको अन्तिम तयारीमा सर्वोत्तम सिमेन्ट

लोकपाटी न्यूज

काठमाडौं। सर्वोत्तम सिमेन्ट बुक बिल्डिङबाट प्राथमिक शेयर (आईपीओ) निष्कासनको अन्तिम तयारीमा जुटेको बताएको छ। सर्वोत्तम केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार कम्पनीले अर्को साता नै योग्य संस्थागत लगानीकर्ताहरूसँग छलफल गर्ने भएको छ। उनका अनुसार छलफलका लागि कम्पनीले संगठित संस्थाको प्रारम्भिक विवरणपत्र तयार गरिरहेको छ।

यो तयारी लगभग सकिएकोले केही दिनमा नै योग्य संस्थागत लगानीकर्तासँग छलफल हुने कम्पनीको दाबी छ । ‘सायद यो हप्ता नै त्यस छलफलका लागि दैनिक पत्रिकामा सूचना प्रकाशित गर्छौं’, ती कर्मचारीले भने। कम्पनीले बुक बिल्डिङबाट प्राथमिक शेयर निष्कासन गर्ने हो भने यसका लागि छलफल गर्नु एक साता अघि नै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्नु पर्ने हुन्छ। सो छलफलमा योग्य संस्थागत लगानीकर्ताबाट कम्पनीले आशय मूल्य प्राप्त गर्ने छ।

सर्वोतमले कम्तीमा पाँच योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ। सो आशय मूल्यपछि मात्र कम्पनीको विवरणसहित धितोपत्र बोर्डमा शेयर निष्काशन गर्न अनुमति माग्नु पर्ने कानूनी नियम छ। धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार सर्वोतमले बुक विल्डिङबाट शेयर निष्कासन गर्ने जानकारी बोर्डलाई गराएको छ। तर, कम्पनी विवरण पत्रसहित बोर्डमा आएको छैन। उनका अनुसार अहिलेसम्म धितोपत्र बोर्डमा अन्य कुनै पनि कम्पनीले बुक विल्डिङबाट शेयर निष्काशन गर्न जानकारी गराएका छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्