आयल निगमले आजदेखि ईआरपी प्रणाली लागू गर्दै

nepal-oil-nigam-2-
लोकपाटी न्यूज

काठमाडौं। नेपाल आयल निगमले आज(वैशाख ३) देखि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली कार्यान्वयनमा ल्याएको छ। सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम सकिएर निगमले डिजिटल युगमा प्रवेश गर्ने पहिलो खुड्किलो उक्लिएको हो। वैशाखदेखि असारसम्म परीक्षणको अभ्यास गरी नयाँ आर्थिक वर्ष (साउन १)देखि ईआरपी पूर्ण रूपमा कार्यान्वयन गरिने निगमले जानकारी दिएको छ ।

निगमले करिब २५ करोड रुपैयाँ लगानीमा प्रणाली विकास गरेको हो। प्रणाली विकासको जिम्मा नियोटेरिड नियो सफ्टवेयरले पाएको थियो। संसार सूचना प्रविधिको युगमा छ। ईआरपी एकीकृत सूचना प्रणाली भएकाले कमजोरी औंल्याउनेछ। यसले रोग लाग्न सक्ने संकेत दिन्छ र संयमता अपनाउन सकिन्छ। यसको माध्यमबाट निगमको एउटा कार्यालयमा प्राप्त सूचना पुरै निगम प्रणालीमा पुग्छ।

उदाहरणका लागि, भन्सार विन्दुमा बिल काटेपछि लेखामा जानकारी पुग्छ। ईआरपीले रियल टाइममा सूचना प्रवाह गराउँछ। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल भन्छन्, “ईआरपी कुनै जादुको छडी होइन, हामीले सदुयोग गर्ने औजार हो। कमजोरीको कडी पत्ता लगाउने माध्यम हो।” कुनै ट्यांकर १५ दिन अघि भारतमा लोड भयो र चार दिनमा काठमाडौं आउनुपर्ने आइपुगेन भने ईआरपीले जानकारी दिन्छ।

ईआरपीले किन ढिलो भयो, खोज्ने सूचना दिन सक्छ। “यसले संस्थाको सबै स्रोतलाई प्लानिङ गर्छ, सूचनाका आधारमा हामीलाई एक्सन लिन सजिलो हुन्छ,” पौडेलले भने, “यसले कामको डुप्लिकेसी हुन दिँदैन।” निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार ईआरपीले केन्द्रिकृत सुचना संकलन गर्छ। प्रशासन, लेखा तथा सञ्चालनसम्बन्धि काम केन्द्रिकृत प्रणाालीबाट हुन्छ। अहिले स-साना सफ्टवेयरबाट काम भइरहेकामा केन्द्रिकृत प्रणालीबाट गर्दा सहज हुने उनको जिकिर छ।

यो प्रणालीले निगमलाई गरिने भुक्तानी, डिपोजिट गर्ने काम लगायत काममा सहजता सिर्जना गर्छ र पेट्रोलियम आपूर्ति तथा बिक्रीवितरणको काम पनि सहज हुन्छ। मुलुक नै डिजिटल युगमा प्रवेश भइरहेको स्थितिमा यो नयाँ कामको थालनीले इँटा थप्ने उपाध्यायले दाबी गरे। अवधारणा आएको १ वर्षभित्रै ईआरपी कार्यान्वयनमा आएको हो। प्रवक्ता उपाध्यायले भने, “आजदेखि ट्रायल चरणमा सफ्टवेयर प्रयोग गरी नयाँ आर्थिक वर्ष २०७८/७९ को सुरू अर्थात साउन १ देखि फुलफ्लेजमा कार्यान्वयनमा लैजाने छौं।”

यो प्रणालीले अनुगमन र नियमनलाई प्रभावकारी बनाउनेछ। पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न पनि निगमले ईआरपी प्रणालीबाट काम गर्ने भएको बताएको छ। यो प्रणाली सफ्टवेयरमार्फत स्वचालित हुन्छ जसले निगमका सबै कामहरूलाई डिजिटलाइज गर्नेछ। ईआरपी प्रणालीले दैनिक कामलाई व्यवस्थित गर्नेछ। वित्तीय सुशासन प्रभावकारी हुन्छ भने सेवा प्रवाहको प्रभावकारी पनि बढ्छ। प्रविधिमैत्री भएर प्रभावकारी सेवा दिन तथा निगमलाई पेपरलेस बनाउन ईआरपी ल्याइएको हो।

ईआरपीमार्फत् देशभरका प्रादेशिक कार्यालय, डिपो र विभागको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउँछन्। यसले एकै स्थानबाट निगरानी र निर्देशन दिनसक्छ भने प्रशासनभित्रको बेथिति र ढिलासुस्ती अन्त्य हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्