प्रभु बैंककाे १० वर्षे ऋणपत्रमा आजदेखि आवेदन दिन पाइने

लोकपाटी न्यूज

काठमाडौं। प्रभु बैंकले आज (मंगलवार)देखि १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गर्ने भएको छ। कम्पनीले कुल ४० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो।

कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ। सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो।

‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्र माग बमोजिम आवेदन परेमा छिटोमा जेठ १६ गतेसम्म विक्रीमा रहनेछ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २६ गतेसम्म ऋणपत्र विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ।

प्रति ऋणपत्र १ हजार रुपैयाँका दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ। विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्