विदेश डुलेर मात्र समृद्धि आउँदैन : डा. रामशरण महत

Dr. Ramsaran Mahat
लाेकपाटी न्यूज

काठमाडौं, १९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने, ‘सधैं संसद अवरोध हुँदैन । एक/दुई दिन अवरोध भयो भन्दैमा सधैं संसद अवरोध हुँदैन । उहाँहरुले महिनौं दिनसम्म अवरोध गर्नुभएको थियो । हामीले त त्यत्रो गरेका छैनौं ।’

उनले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले विरोध गर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारे । उनले भने, ‘संसदमा अवरोध गर्नेबारे अहिले कुनै निर्णय भएको छैन । के गर्ने भन्नेबारे संसदीय दलले निर्णय गर्ला । तर, अहिलेसम्म अवरोध गर्ने निर्णय भएको छैन । पर्सि त विरोधको कार्यक्रम हो । विपक्षीले विरोधको कार्यक्रम गर्नु त – संसदमा पनि विरोध गर्छ र आवश्यक परे संसदमा पनि विरोध गर्छ । एक दिन सडकमा आउँदैमा सारा कुरा निश्चय पनि अवरुद्ध हुँदैन ।’

नेता महतले कांग्रेसले आफ्नो पार्टीका दुई जना नेता गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताललाई लिएर मात्रै कांग्रेसले विरोध नगरेको जिकिर गरे । उनले भने, ‘अहिले त सरकारले यी दुवै अस्पताल संघीय सरकारकै मातहातमा रहने निर्णय गरेको छ ।’

आफूहरुले सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता तथा सहमति कार्यान्वयन नगरेको र जबरजस्ती संसदबाट विद्येयक पारित गरेको विरोधमा सदन र सडकमा विरोध गरेको महतले स्पष्ट पारे । उनले भने, ‘सभामुखले पनि विवादस्पद भूमिका खेल्नुभयो । कांग्रेसको विरोधका बावजुद पनि विद्येयक जबरजस्ती पारित भयो ।’

उनले पछिल्लो समय महङ्गीको चरम सीमा नाघेको र जताततै भ्रष्टाचार बढेको पनि आरोप लगाए । उनले भने, ‘हजारौं विकास निर्माणका आयोजनाहरु बेवारिसे भएका छन् । बहुवर्षमा ठेक्का लागिसकेका आयोजनाहरु बेवारिसे भएका छन् । केन्द्रले सुरु गरेका योजनाहरु केन्द्रले नै सम्पन्न गर्नुपर्दथ्यो । होइन भने प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ । त्यसको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिनुपर्छ । तर, त्यो केही पनि गरिएको छैन ।’

त्यस्तै उनले वाडडबडी भ्रष्टाचार काण्डबारे पनि निष्पक्ष छानविन हुनुपर्ने माग गरे । उनले भने, ‘यसमा दोष कसको छ ? के छ ? भन्ने कुरा संसदीय समितिले बाहिर ल्याएको छ । यो रिपोर्टबारे निश्पक्ष तवरले छानबिन गर्नुपर्यो । अन्त्यमा त अदालत जान्छ । यसमा अविलम्ब निष्पक्ष तवरले छानविन होस् । हामी यो अडानमा पछि परेका छैनौं ।’

वर्तमान लगानी बढाउँछु र दश वर्षभित्र मध्यम आय भएका राष्ट्र बनाउने र अर्थव्यवस्थालाई पर क्यापिटा इन्कम दश हजार डलर पुर्याउनेजस्ता सरकारले अनेक अनेक हावादारी लक्ष्यहरु घोषणा गरिरहेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री डाबोस जानुभयो । यो अत्यन्तै राम्रो कुरा हो । त्यसमा असहमति होइन । तर, मुल कुरो के हो भने देशको अवस्था नै नसुधारिकन खाली भाषणमात्रै गरेर देश तथा विदेश घुमेर मात्रै अथवा लगानी सम्मेलन गरेर मात्रै लगानी आकर्षित हुने कुरो होइन ।’

देशमा सुशासन छ कि छैन ? भएका नियम, कानूनहरु राम्रोसँग पालना हुन्छन् कि हुँदैनन् ? भ्रष्टाचार समाप्त भएको छ कि छैन ? न्यायपालिका स्वतन्त्र छ कि छैन ? विधिको शासन लागू भएको छ कि छैन ? देशभित्रका लगानीकर्ताहरु के खोज्दैछन् ? भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘देशभित्रै काम गर्ने वातावरण र लगानीको वातावरण बनाउनुपर्छ । तर, यी सबै कुरामा निराशजनक स्थिति छ ।’

विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुइङ बिजनेश रिपोर्ट’मा नेपालमा लगानीको वातावरणको अवस्था घटेको पनि उनले सुनाए । महतले भने, ‘नेपालको स्टाटस घटेको छ । उता टा«न्सपरेन्सी इन्टरनेश्नलको रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार बढेको छ ।’

त्यस्तै उनले नेपालमा पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको अवस्था आफूले देखेको पनि आरोप लगाए । महतले भने, ‘लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन् । लगानी गरेकाहरु पनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।’

महतले मुलुकमा विदेशी लगानी भित्र्याउनका लागि आकर्षणको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘लगानी ल्याउनका लागि देशको स्थिति सुधार्नुपर्छ ।’ उनले सरकारले समयमै र सही ढंगले निर्णय गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने, ‘यसका लागि व्युरोक्रेसीलाई इफिसेन्ट बनाउनुपर्छ ।’

सरकारले लगानी सम्मेलन गर्न लागेको विषयमा टिप्पणी गर्दै उनले भने, ‘अढाई वर्षअघि प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो । नविन्द्रराज जोशी उद्योगमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला कि–नोट नै मैले सम्बोधन गरेको थिएँ । त्यतिबेला १४ मिलियन डलरको लगानी गर्छौं भनेर प्रतिबद्धता आएको थियो । लगानीकर्ताहरुले एमओयूमा हस्ताक्षर गरेर गएका छन् । सरकारले त्यतिबेला प्रतिबद्धता गरेका लगानीकर्ताहरुसँग फलो–अप गर्नुपर्छ । उनीहरु किन आएनन् भनेर सोध्नुपर्छ ।’

उनले नयाँ सम्मेलन गर्छु भनेरमात्रै प्रचार गर्न नहुने धारणा राखे । उनले भने, ‘मेरो सरकारलाई अहिले पनि सुझाव छ–यो प्रचारवाजी कुरामात्रै होइन । भाषणवाजी कुरामात्रै होइन । काम गरेर देखाउनुपर्यो । मेहनत गर्ने वातावरण बनाउनुपर्यो ।’

फरक प्रसङ्गमा डा. महतले भेनेजुएला प्रकरणबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोदुरो सरकारलाई पूरा समर्थन गरेर वक्तव्य निकालेको बताउँदै भने, ‘अब तुरुन्तै परराष्ट्र मन्त्रालयले अर्को निकाल्यो । सरकारको वक्तव्य पनि करिब करिब प्रचण्डजीलाई नै समर्थन गर्या जस्तो छ । भेनेजुएला तेलको अत्यन्तै धनी मुलुक हो । संसारका जुन जनु मुलुक तेलका धनी छन्, अत्यन्तै सम्पन्न भएका छन् । तर, भेनेजुएला भन्ने त्यस्तो मुलुक हो, जहाँ चाहिँ जनताले खान नपाएर, औषधोपचार नपाएर र मुल्य वृद्धि अकाशिएर ८० हजार प्रतिशत मुल्यवृद्धि, त्यस्तो दुर्दशा छ।’