जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार डोज खोप कहिले नेपाल आइपुग्छ?

लोकपाटी न्यूज

काठमाडौं। अमेरिकाबाट कोभ्याक्स सुविधा अन्तर्गत जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित १५ लाख ३४ हजार डोज कोरोनाविरूद्धको खोप नेपाल आउने भएको छ। बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै आज (शुक्रबार) खोप पठाउन लागेको जानकारी दिएको हो।

रोयटर्सको शुक्रबारको समाचारमा अमेरिकी सरकारले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन र भुटानलाई मोडेर्ना कम्पनीले उत्पादन गरेकाे ५ लाख डोज काेराेनाविरुद्धकाे खोप पठाउन लागेको उल्लेख छ। यसअघि अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित ‘जेन्सेन एडी २६.सिओभी.२’ खोप नेपाल पठाउने जानकारी दिएको थियो।

अहिलेसम्म नेपालमा भारत र चीनबाट ल्याइएका खोप दुई डोज लगाउनु पर्ने खालका छन्। तर, यो खोप एक डोज मात्र लगाए पुग्ने विज्ञहरुले बताएका छन्। १५ लाख ३४ हजार ८५० डोज खोप आउने पक्का भएपछि स्वास्थ्य मन्त्रालयले आयात अनुमतिका लागि औषधि व्यवस्था विभागमा पत्रसमेत पठाएको थियाे। रोयटर्सले उद्धृत गरेका ती अधिकारीले वैज्ञानिक, कानुनी र नियामक निकायका अधिकारीले नेपाल र भुटानमा सुरक्षित र प्रभावकारी खोप पठाउने सुनिश्चितता गर्न काम गरेको उल्लेख गरेका छन्।

अमेरिकाले कोरोनाविरुद्धको खोप कूटनीतिमार्फत् आफ्नो भू–राजनीतिक प्रभावलाई अझ प्रगाढ बनाउन चीनसँग प्रतिस्पर्धा गर्दै आएको छ। उसले आफ्नो सुरक्षा र स्वार्थका लागि खोपहरू बाँडफाँड नगरेकाे दाबी गरेकाे छ। अमेरिकाले जीवन बचाउन र महामारीको अन्त्य गर्न जोड दिँदै आएको बताएकाे छ। एक महिनाअघि पनि अमेरिकी राष्ट्रपति जो वाइडेनले फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुआ न्यू गुयना र कम्बोडियालगायत एसियाका अन्य देशहरूमा पनि खोप दिने घोषणा गरेका थिए।

‘हामी विश्वव्यापी खोप रणनीतिमा नेतृत्व गरिरहेका छौं। यो नैतिक तवरले सही कुरा हो। विश्वव्यापी सार्वजनिक स्वास्थ्य दृष्टिकोणबाट सही छ र हाम्रो सामूहिक सुरक्षा र कल्याणको लागि राम्रो हो,’ एक अधिकारीले रोयटर्ससँग भनेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख क्रिस्टलिना जर्जियावाले बुधबार अमेरिका, चीन र २० प्रमुख अर्थतन्त्रका अन्य समूहलाई विश्वभर काेराेनाविरुद्धकाे खोपको पहुँचलाई तीव्र बनाउनका लागि आग्रह गरेका थिए। उनले काेराेनाविरुद्धकाे खोपमा ठूला राष्ट्रको मात्रै हालीमुहाली हुँदा विकासोन्मुख देशहरू पछाडि रहने खतरा रहेको बताए।

यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी देखिएको संगठनकाे दाबी छ। यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिने जनाइएकाे छ। नेपालमा कोभाक्स सुविधा अन्तर्गत हालसम्म अक्सफोर्ड एस्ट्राजेनेको सहयोगमा भारतको सेरम इन्टिस्च्यूटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीका अनुसार खोप छिट्टै आइपुग्ने जानकारी आए पनि यति गते नै आउँछ भन्ने निश्चित भइसकेको छैन। ‘सम्भवत सोमबार वा अर्को साताभित्र आइसक्ने जानकारी आएको छ,’ ती कर्मचारीले भने, ‘यति गते नै भनेर निश्चित नभए पनि अबको सातदिन भित्र आइसक्छ भन्ने कुरा छ।’ उनले सोही अनुसार मन्त्रालयले खोप आएपछि भण्डारण लगायतका विषयमा तयारी गरिरहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्