ओली नेतृत्वको सरकारले गरेकाे एआईजी सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन

nepal-police
लोकपाटी न्यूज

काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले असार २७ गते मात्रै ४ जना एआईजीको सरुवा गर्ने निर्णय गरेपनि कार्यान्वयन भइसकेको थिएन। गृह मन्त्रालयले बुधबार एआईजी सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो। सर्वोच्च अदालतको फैसलापछि ओली प्रधानमन्त्री पदबाट बर्खास्तीमा परेपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको छ। सरकार गठन भएको भोलिपल्टै गृह मन्त्रालयमार्फत सरुवा नगर्न भन्दै निर्देशन दिइएको स्रोतले जानकारी दियो।

सरकारको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सरुवा भएका एआईजीहरुलाई अहिले रमाना नलिइ पहिलाकै ठाउँमा यथास्थितीमा रही काम गर्न भनेको स्रोतले जानकारी दियो। असार २७ गते ओली नेतृत्वको सरकारले ७ महिनामै एआईजीहरुको सरुवा गरेको थियो। सामान्यता प्रहरीमा १ वर्ष नपुगी सरुवा गर्ने प्रावधान छैन। असार २७ गते निर्णयमा काठमाडौं उपत्यका प्रहरी कार्यलयका एआईजी हरि पालको अपराध अनुसन्धान विभागमा सरुवा भएको थियो। काठमाडौं उपत्यका प्रहरी कार्यलयमा भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी प्रद्युम्न कार्कीको सरुवा गरिएको थियो।

अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरुवा गरिएको थियो। मानव स्रोत विभागका एआईजी निरज शाहीलाई कार्य विभागमा सरुवा गरिएको थियो। हालै नयाँ दरबन्दी सिर्जना गरी बढुवा गरिएका एआईजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको थियो।