चट्याङबाट कसरी बच्ने ? यी हुन् १० तरीका

chatyan
लाेकपाटी न्यूज

काठमाडौं, २६ माघ । नेपालमा चट्याङ लागेर मृत्यु भएको खबर दैनिक रुपमा आउने गरेका छन् । पछिल्लो समय चट्याङका घटनाहरु बढ्दै गएका छन्।

धेरैले ज्यान गुमाउनु परेको छ भने कतिपय घाइते भएका हुन्छन् । चट्याङबाट ठूलो क्षति भइरहेको पनि हामीले देखेका छौँ । यसबाट बच्न तथा सुरक्षित रहन निम्न कुराहरुमा ध्यान दिन जरुरी छ ।

चट्याङल परेका बेला सकेसम्म घर बाहिर निस्किनु हुँदैन, घरभित्रै झ्याल ढोका बन्द गरेर सुख्खा ठाउँमा बस्नुपर्छ । यदि घर बाहिर मानव बस्तीमा हुनुहुन्छ भने घर वा पसलभित्र बस्नुपर्दछ ।

चट्याङले अग्ला रुखहरु, बत्तीका पोल, तारबार, पोखरी आदि सजिलै समात्ने हुनाले त्यस्तो ठाँउ वरपर बस्नु हुँदैन । स्टिलको फ्रेम र बलियो छत भएको सवारी साधनभित्र हुनुहुन्छ भने धातुलाई नछोइकन बस्नुपर्छ ।

खुला क्षेत्र वा जङ्गलमा हुनुहुन्छ भने अग्लो पहाड ढिस्को तथा खुला चौरमा नबसी होचो स्थान भएको खाल्डो वा कन्दराभित्र बस्नुपर्छ ।

चट्याङ परेको क्षेत्रमा हुनुहुन्छ र शरीरमा असहज हुनेगरी केही चिजले घोचेजस्तो महशुस भएमा चट्याङले हान्ने सम्भावना छ भन्ने बुझेर तुरुन्तै टाउकोमाथि हात राखेर कुइनाे र घुडा टेकेर घोप्टो पर्नुपर्छ ।

बिजुली चम्केको केही समय पानी परेको क्षेत्रमा निस्किनु हुँदैन । सावरमा नुहाउनु हुँदैन किनभने सिसा र बाथरुममा जडान गरिएका उपकरणहरुले करेन्ट समात्न सक्छ । यस्तो बेला पानीको प्रयोग गर्नु हुँदैन ।

मोटरसाइकल वा साइकलमा हुनुहुन्छ भने साइड लगाएर रोक्नुपर्छ, समूहमा छौँ भने छरिएर बस्नु पर्छ । यसो गर्दा विद्युतीय तरंगले ठूलो क्षति पुर्याउन सक्दैन । त्यस्तै धातुका पर्खाल र पाइपहरुबाट टाढा बस्नुपर्छ ।

घरका झ्याल सटर र बाहिरी ढोका राम्रोसँग बन्द गर्नुपर्छ । झ्यालको पर्दा लगाई झ्यालको सिसाबाट टाढा बस्नु पर्दछ । दलान, सिमेन्टको भुइँ र भित्तामा टासिनु हुदैन । चट्याङ परेको ३० मिनेटसम्म घरबाहिर निस्किनु हुँदैन ।

चट्याङ परेका बेला विद्युतीय उपकरणहरु चलाउनु हुँदैन । धातुका ह्याण्डल र चेन भएका ब्याग छुनु हुँदैन । रबरको सोल भएका जुत्ता वा टायर चट्याङका लागि असुरक्षित हुने भएकाले यस्ता सामग्रीकाे प्रयोग गर्नु हुँदैन ।

चट्याङपछि कोही घाइते भएमा पीडितलाई प्राथमिक उपचार गर्दा श्वासप्रश्वास वा धड्कन रोकिएको भए मुखमा मुख राखेर श्वास दिनुपर्छ र तुरुन्त नजिकैको अस्पताल लैजानुपर्छ ।

घरहरु बनाउँदा अनिवार्य रुपमा अर्थिङ गर्नुपर्छ, जसले गर्दा चट्याङबाट हुने मानवीय क्षति कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्