लाखौं नागरिकबीच प्रियंकाको पहिलो सम्बोधन

Priyanka-Gandhi
लाेकपाटी न्यूज

भारत, २८ माघ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त भएपछि प्रियंका गान्धी सोमबार पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएकी छिन् ।

उत्तर प्रदेश हेर्ने मुख्य जिम्मेवारीसहित केही दिनअगाडि महासचिवमा नियुक्त भएकी गान्धी सोमबार उत्तर प्रदेशकै लखनउमा भएको बृहत सडक र्‍यालीमा सहभागी भइन् । बहुप्रतिक्षित यस कार्यक्रममा जनसहभागिता पनि उल्लेख्य नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुले र्‍याली अवधिभरि नाच्ने, गाउने, नारा लगाउने आदि गरेका थिए ।

कार्यक्रममा उनका दाजु तथा पार्टी अध्यक्ष राहुल गान्धीसहित थुप्रै शीर्ष नेताहरु पनि सहभागी भएका थिए । उनले लखनउ उच्च अदालतदेखि काँग्रेस प्रदेश मुख्यालयसम्म सवारी साधनको छतबाट गान्धीले झण्डै पाँच घण्टा लगातार हात उठाएर बाटो वरिपरि उपस्थित शुभचिन्तकलाई अभिवादन गरिन् ।

उज्यालो रङको कुर्ता र चुरिदार लगाएर कार्यक्रममा सहभागी भएकी ४७ वर्षीया गान्धीलाई उनका श्रीमानले पनि “नयाँ यात्रा”का लागि शुभकामना व्यक्त गरेका छन् । श्रीमान रोबर्ट भद्राले सामाजिक सञ्जालमा लेखेका छन्, “उत्तर प्रदेशमा काम गर्ने र देशभरका भारतीय नागरिकको सेवा गर्ने मेरी श्रीमतीको नयाँ यात्राका लागि हार्दिक शुभकामना छ, प्रियंका मेरा लागि सबैभन्दा प्यारो साथी तथा अत्यन्त असल श्रीमती र जिम्मेवार आमा पनि हो ।”

राजनीतिमा प्रियंकाको प्रवेशलाई आसन्न निर्वाचनबाट पार्टीलाई फेरि सत्तामा पुर्‍याउने बलियो कडीका रुपमा व्याख्या गरिएको छ । लामो समय सत्तामा रहेको भारतीय राष्ट्रिय काँग्रेस पार्टी गत सन् २०१४ मा भएको आम निर्वाचनपछि प्रतिपक्षमा रहेको छ ।

झण्डै २० वर्ष पार्टीको नेतृत्व गरेकी सोनिया गान्धीले एक वर्ष अगाडि आफ्नो छोरा राहुललाई पार्टी अध्यक्षमा नियुक्त गरेकी थिइन् भने त्यसको एक वर्षपछि राहुलले बहिनीलाई महासचिवमा नियुक्त गरेका हुन् ।