रक्त क्यान्सरका बिरामीलाई छुट्टै वार्डको व्यवस्था

भरतपुर01
लाेकपाटी न्यूज

काठमाडौं, १ फागुन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरका बिरामीका लागि छुट्टै वार्डको व्यवस्था गरिएको छ । चितवनको भरतपुरस्थित सो अस्पतालमा रक्त क्यान्सरका बिरामीको चाप बढ्दै गएपछि यस्तो व्यवस्था मिलाइएको हो ।

अन्य बिरामीसँग रक्त क्यान्सरका बिरामीहरुलाई एउटै वार्डमा राखेर उपचार गर्नुपर्दा सङ्क्रमणको बढी जोखिम हुने भएकाले छुट्टै वार्डको व्यवस्था गरिएको हो । अस्पतालले माघ १५ गतेदेखि रक्त क्यान्सरका बिरामीलाई छुट्टा–छुट्टै कोठासहितको २७ शैय्याको क्याबिन र जनरलसहितको शैय्या सञ्चालनमा ल्याएको छ ।

यसअघि अस्पतालमा बिरामीको अत्याधिक चापका कारण बेड नपुगेर केमोथेरापी गर्नुपर्ने क्यान्सर रोगीलाई अन्य अस्पतालमा पठाउने गरिएको थियो । क्यान्सरका बिरामीको प्रभावकारी उपचार गर्न अस्पताल लागि परेको र बेड क्षमतालाई विस्तार गरी सेवा प्रदान गर्न शुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आर्चायले जानकारी दिए । उनले भने,’अहिले बेडको क्षमता नपुगेर बिरामीलाई भर्ना नगरी फर्काउनुपर्ने अवस्था छैन’ । निर्देशक आचार्यकाअनुसार यसअघि बेड अभावका कारण केमोथेरापी लिन आएका बिरामीलाई फिर्ता पठाउनुपर्ने बाध्यता थियो ।

रक्त क्यान्सरका बिरामीलाई नियमित केमो दिनुपर्ने, लामो समयसम्म उपचार गर्नुपर्ने र सुरक्षित ढङ्गबाट उपचार गर्नुपर्ने भएकाले छुट्टै वार्ड सञ्चालनमा ल्याइएको उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्